Logo

१ माघ,सर्लाही । सर्लाहीमा एक १५ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्रम्हपुरी गाउँपालिका–४ बस्ने ६८ वर्षीय रामजी साह, सोही ठाउँ बस्ने १९ वर्षीय विक्रम पासवान र भारत बिहार राज्य सितामडी राजबाडा ग्रामपञ्चायत मुसहर्निया टोल बस्ने २७ वर्षीय प्रवचन साह रहेका छन् ।

भारतीय बालकलाई अपहरण गरी बन्धक बनाई राखेको भन्ने सूचना पाएपछि प्रहरी टोली खटिएको थियो । प्रहरीले ब्रम्हपुरी गाउँपालिका–४ स्थित रामजी साह बस्ने गरेको घरको कोठामा बन्धक बनाई राखेका अवस्थामा ती बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ ।

अपहरणकारीबाट प्रहरीले एक थान कटुवा पेस्तोल, सोही पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड, मोबाइल १ थान, चक्कु १ थान, हथौडा १ थान र बीआर ०६ बीटी २८५० नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेकाविरुद्ध सर्लाही जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


सम्बन्धित समाचार