२ माघ, काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेविरुद्ध दर्ता भएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी सम्बन्धि मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । सोमबार बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश दिएका थिए ।
सोमबार पनि थुनछेक बहस भएको थियो सो दिन रवि पक्षका वकिलहरूले बाहिरै राखेर अनुसन्धान गर्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारको आदेशलाई नै निरन्तरता दिँदै बुधबारबाट फेरि निरन्तर सुनुवाइ हुने बताएका थिए ।
पूर्वगृहमन्त्री लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।