Logo

फाइल तस्बिर

५ माघ,वीरगञ्ज । मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।

आज पनि विभिन्न कार्यक्रम हुँदैछन् । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् ।

२०६२÷०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो ।

माघ २ गतेदेखि शुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो ।

अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । त्यही आन्दोलनको जगमा देशमा सङ्घीयता र संविधान आएको भन्दै हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको छ ।

मधेस आन्दोलनकै जगमा सङ्घीयता, समानता, समावेशिता, आरक्षण लगायतका महत्त्वपूर्ण उपलब्धि हासिल भए पनि अझै अधिकारबाट वञ्चित हुनुपरेको मधेशका नागरिकको गुनासो छ ।

केन्द्रीय नेतृत्व राजनीतिक स्वार्थमा अल्झिँदा र इमानदार नभइदिँदा अधिकारको कार्यान्वयन हुन नसकेको मधेशका बुद्धिजीवीहरुले बताउँदै आएका छन् ।


सम्बन्धित समाचार