Logo

५ माघ, वीरगञ्ज । शुक्रवार डम्म हुस्सु लागेको समयमा काखमा प्लाष्टिकको बोरामा केही भाडाबर्तन लिएर एकजना महिला पछ्यौरा ओढेर बाटोमा हतार हतार हिडिरहेकी छिन् । चिसो पश्चिमी हावा चलेकाले दक्षिणी भेगतिर छिटो छिटो लम्की रहेकी थिईन्।

उनी थिईन् भगवनीया देवी मुस्हरिन । नाम भगवनिया भएपनि भगवानको आशिर्वाद भने उनले पाईनन् । उनको दिन सधै दीन भएर गुजार्नु परेको छ । खाना खाएर काम्दै उनी हरेक दिन जस्तै शुक्रवार पनि माछा मार्न जादै थिइन्। उनी माछा मारेर बिक्री गरी गुजारा चलाउने गर्छिन् । जाडो या गर्मी जस्तो मौसम भएपनि माछा मार्नैपर्ने उनको बाध्यता छ । नभए उनी सहित उनका अन्य परिवारका सदस्य भोकै बस्नुपर्छ ।

भगवनीया देवी मुस्हरिनले माछा मारेर समयमा बजारमा ल्याउन नसके वा माछा बिक्री नभए परिवारलाई नै हातमुख जोड्न समस्या हुन्छ । भगवनियादेवीको मात्रै समस्या नभइ जिराभवानी गाँउपालिका वडा नं.– २ सेंढवाका मुसहर बस्तीका अधिकांश परिवारको समस्या उस्तै छ । मुसहर बस्तीका करिब ८० घर परिवारमध्ये ७५ परिवारले माछा मारेर जिविका चलाउने गरेका छन् ।

तर, अहिले अत्यधिक जाडो बढेको र चिसो हावा चलेका कारण उनीहरुको जीवन नै कष्टकर बनेको छ । उनीहरुले ग्रामिण क्षेत्रमा रहेका खोला, नदि, जलाशयबाट माछा मारी बिक्रीका लागि नजिकको बजारमा लाने गर्छन्। उनीहरुले भारतको इनरवा, नेपालको जानकीटोला, पिडारीगुठी, परसवा, सेढवा, नौकाटोला, सुपौली, सखुवनिया बजारमा थालमा माछा राखेर बिक्री गर्ने गरेका छन् ।

उनी आफ्नो दुःख यसरी पोख्छिन्, ‘एक त हामीसँग जाडो खेप्ने न्यानो लुगा छैन । अर्को यस्तो कठाङग्रिने जाडोमा पनि पानीमा माछा नमारे हातमुख जोर्नै समस्या हुन्छ । घरमा आगो तापेर बस्दा बिहान बेलुकाको खान नपाउने चिन्ता हुन्छ । अहिले पानीमा पस्दा हातखुट्टा नै काटिएको जस्तो लाग्छ ।’

सोही टोलका झोहर माझीले बिहानै खाना खाएर १०–१५ किलोमीटर दक्षिणमा रहेको जलाशय माछा मार्न जाने दैनिकी रहेको बताए। माछा मार्न जाँदा आवश्यक सामग्री कोदालो, अन्य भाडा बर्तन लागयतका सामान लिएर जाने गरेको माझीले बताए। धोबिनी, छिपहरमाई गाउँपालिका र भारतको सिक्टा, मैनाटाड क्षेत्रको नहरबाट छोडिएको पानी जमेको ठाऊमा माछा मारेर ल्याउने गरेको माझीले बताए।

त्यस्तो जमेको ठाउँको पानी एकदमै चिसो भएकाले पराल बालेर आगो ताप्दै माछा मार्ने गरेको माझीले बताए। जुन खोला या नदिको पानी जमिन मुनीको सतहबाट आउछ, अलि तातो हुन्छ तर जमेको पानी एकदमै चिसो भएकाले ज्यान जोगाउन गाह्रो हुने माझीले बताए। साताको प्रत्येक दिन बजार लाग्ने हुँदा माछा मारेर समयमा पुग्न हतार हतार हुने गरेको माझी बताउछन् ।

माछा भेटेमा एक दिनमा एक सयदेखि पाँच सय रुपैयासम्म कमाई हुने गरेको सोही टोलकी ठगिया देवी मुस्हरिनले बताईन। बजारमा हाम्रो माछाको माग रहेपनि कहिलेकाँही बजारमा बिक्री नहुदा गाँऊमा घुमाएर चामलसँग पनि माछा साट्ने गर्ने गरेको मुस्हरिनले बताईन्। माछाको साथ साथै गंगटो, घोंगी लगायत बिक्रीका लागि ल्याउने गरेको मुस्हरिनले बताईन्।

माछा बिक्रीबाट आएको रकमले दाल चामल खद्यान्न, लता कपडा, औषधी उपचारको खर्च चलाउने गरेको उनीहरुको भनाई छ । अहिले ग्रामीण भेगमा खेतीपाती तथा अन्य क्षेत्रको काम नहुँदा रोजगारी पाउने अवस्था नरहेको स्थानीय माथुर माझी मुस्हर बताउछन्। मल बीऊ छर्ने, सिँचाई गर्ने, धान काट्ने , गोलमेल लगायतका कामहरु नभएकाले दैनिक ज्यालादारीका काम पनि नपाएकोले अहिले समस्या भोग्नु परेको उनीहरुको भनाई छ ।

माछा मार्न बस्तीका स साना बालबालिकाहरु समेत जाने गरेका छन्। बस्तीका केही व्यक्तिहरुले परम्परागत सुँगुरपालन, भैसीपालन, खेतीपाती गर्ने गरेका छन् । तर, मुख्य पेशा भने माछा मार्ने नै रहेको उनीहरु बताउछन् । ती मुसहर दलित समुदायको कसैको पनि निजी जग्गाहरु छैनन् । भूमिहिन दलितहरुको दैनिकी माछा मारेर बिक्री गरेर चलाउने गरेका छन् ।

 

 


सम्बन्धित समाचार