७ पुष, रौतहट । रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ बस्ने वर्ष २६ को धनञ्जय कुमार झा रहेका छन् ।
उनलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताए । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७।६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको एसपी हुमागाईँको भनाई छ ।
आरोपीले प्रयोग गरेको मोटरसाइकलसहित बरामद पेस्तोल गोली नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि आइतबार राती नै जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको एसपी विक्रम हुमागाईँले जानकारी दिए ।
पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको तथा उनको साथबाट बीआर ०५ बी डी १२२४ नम्बरको अपाचे मोटरसाइकल १ थान र सामसङ कम्पनीको ए ३५ मोबाइल १ थान बरामद भएको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका ४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको थियो।