७ माघ,वीरगञ्ज । बाराको साबिक आदर्श गाविस (जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत)का सचिवविरुद्ध मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । उनीमाथि विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
पदमा रहँदा उनले विभिन्न आर्थिक वर्षमा गाविसका लागि विनियोजन भएको रकम हिनामिना गरी अनियमितता गरेको उजुरी परेको थियो । सोहीमाथि छानबिनका क्रममा ३८ लाख तीस हजार पाँच सय रुपैयाँ भ्रष्टाचार भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार गुदरी बजार र मिना बजारका सटरहरु उपभोक्तालाई भाडामा लगाउँदा अपनाइएको विधि पारदर्शी भएको भनी एकिन गर्न सकिने अवस्था नरहेको, निजले सटरहरु उपलव्ध गराउँदा लिएको धरौटी वापतको रकमसँग सम्बन्धित कागजातहरू लुकाई बरबुझारथ समेत नगरेको र १२१ जना उपभोक्ताहरूबाट लिएको आर्थिक वर्ष २०६४/६५ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएबमोजिमको धरौटी वापतको ३८ लाख ३० हजार रुपैयाँ साबिक गाविसको धरौटी खातामा जम्मा गर्नुपर्नेमा सो नगरी वद्नियत राखी अन्सारीले हिनामिना, दुरुपयोग गरेको पाइएको छ ।
सोही बराबरको रकम बिगोसहित कैद र जरिवाना सजायको मागदाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।