Logo

७ माघ,वीरगञ्ज । स्वास्थ्य क्षेत्रको सेवाहरुलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामास्वास्थ्य क्षेत्रसंग समबन्धित सरोकारवाला एवंम सुरक्षा निकाय सहित बसेको बैठकले सरकारी, निजी र सामुदायिक अस्पताल तथा स्वास्थ्यसंस्थाहरुको सेवा थप सरल र पारदर्शी बनाउने, अस्पताल तथा स्वास्थ्य संस्थाहरुले लिने शुल्कमा एकरुपता कायम गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट भएका निर्णयहरु पुर्ण रुपमा कार्यान्वयन गर्ने÷गराउने, नेपाल सरकारबाट स्वीकृत मापदण्ड तथा नीतिहरुको पूर्ण परिपालन गर्ने/गराउने, अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

त्यसैगरी अनुगमनको क्रममा बिषय बिज्ञ तथा नेपाल चिकित्सक संघको समेत प्रतिनिधि सहितको अनुगमन टोली परिचालन गर्ने, अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुले सेवा, सुबिधा, पारिश्रमिक लगायतका बिषयमा चासो वा माग राखेकै कारण उनीहरु माथि फरक ब्यवहार गर्ने वा सेवाबाट हटाउन नपाईने निर्णय पनि गरेको छ ।

उनीहरुले हाल खाईपाई सेवा सुबिधामा वृद्धिको विषयमा सबै सरोकारवालाहरुसँग छलफल÷समन्वय गरि प्रस्ताव गर्न निजी अस्पताल संचालक संघका अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । त्यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सुचना व्यवस्थापन नागरिकमैत्री गराउने, स्वास्थ्यकर्मीहरुको आचारसंहित पूर्ण परिपालन गर्ने÷गराउने व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।

साथै उपचारको क्रममा स्वास्थ्यकर्मी माथि मानसिक र शारिरीक दबाव दिने, संस्थामा तोडफोड गर्ने, हातपात गर्ने जस्ता उछृंखल क्रियाकलापलाई नियन्त्रण/नियमन गर्न शून्य सहनशिलता नीति अपनाउने, समय समयमा सर्वपक्षीय छलफल, अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गरी कार्यगत वातावरण सृजना गर्ने लतायतका निर्णयहरु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यसैबीच स्वास्थ्य कार्यलय पर्साले दर्ता नभएका एम्बुलेन्सहरु दर्ता गर्न सुचना जारी गरेको छ । एम्बुलेन्स व्यवस्थापन समिति पर्साले दर्ता नभएका एम्बुलेन्सहरु दर्ता गर्ने निर्णय अनुसार आज सूचना जारी गरेको हो ।

जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति पर्साको गत शुक्रवार बसेको समितिको बैठकले दर्ता नभएका एम्बुलेन्सहरु दर्ता गर्ने निर्णय गरेको थियो । पर्सा जिल्ला भित्र संचालनमा रहेको तर दर्ता नभएको एम्बुलेन्सहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा दर्ता गर्न सम्बन्धित सरोकारवालाहरुलाई एम्बुलेन्स व्यवस्थापन समितिले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार