९ माघ,वीरगञ्ज । उपकार सेवा नेपालको आयोजनामा बाराको प्रसौनी गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रुईत फाउण्डेशन र बिरगंज सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा प्रसौनी गाउँपालिका वडा नम्बर १ को स्वास्थ्य चौकी प्रसौनीमा संचालित निःशुल्क आँखा शिबिरमा १४२ महिला ७५ पुरुष गरी जम्मा २१७ जनाले आँखा परीक्षण गराएका थिए ।
परीक्षण गरेका मध्य १०२ जनालाई मोतिया बिन्दुको बिरामी फेला परेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिनुभया । मोतियाबिन्दुको समस्या भएका बिरामीहरुलाई भोली वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क अप्रेसन समेत गरिदिने उपकार सेवा नेपाल संस्थाले जनाएको छ ।
अस्पतालसम्म आउनका लागि प्रसौनी गाउँपालिकाले यातायातको निःशुल्क व्यवस्था गरेको छ । आँखा शिविरको उदघाटन पालिका प्रमुख बिनोद प्रसाद जैसवाल तथा उपकार सेवा नेपालको अध्यक्ष विद्या कुमारी सरावगी सयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा संस्थाको सदस्य पद्मा देवी सरावगी, सुमन बगेडिया, अंकुर शर्मा तथा सज्जन अग्रवाल, वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटर महेशसिंह धामी, पालिकाका प्रशासकीय प्रमुख सुमित कुमार सिंह र स्वास्थ्य प्रमुख सुरेश कुमार साह लगायत स्थानीयको उपस्थिति रहेको थियोे ।