Logo

१० माघ,काठमाडौं। सीमा क्षेत्रमा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरुमाथि विभिन्न ढंगले आक्रमण गर्ने क्रम रोकिएको छैन।

सुरक्षाकर्मीहरुमाथि आक्रमण गरेर अबैध कारोबारीहरुले आफ्नो धन्दा चलाइरहेको छन्। सीमा क्षेत्रको सुरक्षार्थ तैनाथ भएको सशस्त्र प्रहरीमाथि तस्कर समूहले निशाना लगाउने गरेका छन्। सीमा क्षेत्रमा झोले पोकेहरुले मात्र होइन ट्रकमा सामान ओसार पसार गर्नेहरुले समेत सशस्त्र प्रहरीलाई निशाना लगाएर आक्रमण गर्न थालेका छन्।

भारतसँग सीमा जोडिएका नेपालीहरु भारततर्फ सस्तो मूल्यमा सामान पाइनेभएपछि किनमेलका लागि दिनहुँजसो उतैका बजारमा जाने गरेका र तीसँगै तस्कर समूहले समेत मौका छोप्ने गरेका छन्।

घरायसी सामाग्रीदेखि व्यापारिक प्रयोजनका सामान ल्याउन साना व्यापारीदेखि ठूलासम्म सिमापारीकै बजारमा बढी निर्भर हुने गरेका छन्। यी जिल्लामा प्रत्येक महिना शसस्त्र, जनपद प्रहरी र भन्सार कार्यालयले ठुलो मात्रामा अवैध सामाग्रीहरु समेत बरामद गर्ने गरेका भएपनि ठूला तस्करहरु सधै उम्किने गरेका छन्।

भारत र चीनतर्फका नाकाबाट हुने भन्सार छली र तस्करी नियन्त्रण प्रभावकारी बन्न सकेको छैन। बरु सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि नै तस्करहरु जाइलाग्ने गरेको विषयले सुरक्षाकर्मीहरुलाई त्रस्त बनाएको छ।

भारतसँगको सीमा क्षेत्र सिराहामा खटिएका सशस्त्र प्रहरी बलका नायब निरीक्षक लक्ष्मणप्रसाद यादवको गत मंसिर १६ गते गाडीको ठक्करले मृत्यु भएलगत्तै सर्लाहीमा भेप बोकेको ट्रकले सशस्त्र प्रहरी निरीक्षकलाई ठक्कर दिएर मृत्यु भएपछि यो तस्करी नियन्त्रणमा जोखिम रहेको महशुस हुँदै गएको सुरक्षा अधिकारीहरु बताउँछन्।

यादवलाई तस्करको गाडीले ठक्कर दिएको खुलेको थियो। सीमा नाकाबाट भइरहेको अवैध तस्करी नियन्त्रणमा कडाइ गरेपछि सुरक्षाकर्मीको हत्यामै तस्करहरू उत्रिएको बुझाइ सशस्त्र प्रहरीको छ।

साउन यता मात्रै तस्करी नियन्त्रण गर्न बसेका सशस्त्रमाथि १५ वटा आक्रमणका घटना भएका छन्। ती घटनामा ६ जना घाइते भएका छन्। सीमा क्षेत्रमा हुने यी घटना देशको अर्थतन्त्रसँग जोडिएको छ। नेपाल–भारत खुला सीमा छ। यही सीमा सबैभन्दा धेरै भन्सार छली र राजस्वसाग जोडिएको छ।

भन्सार जाँचपास गराउन बस्ने निजामती प्रशासनको कमजोर उपस्थितिले अवैध तस्करी रोकिएको छैन। सशस्त्र प्रहरी बलको तथ्यांकअनुसार गतसाउन यता मात्रै भन्सार तथा राजश्व छली गरेर ल्याइएको १ अर्ब ९४ करोडको सामान बरामद भएको छ।

भन्सार छली गर्नेहरूको थप अनुसन्धान र कारवाही राजश्व अनुसन्धान कार्यालयहरूले गर्दै आएका छन्। बेला बेखत सीमा क्षेत्रको तस्करी रोक्न दुई देशका अधिकारीहरुबीच बैठक पनि हुने गरेको छ। तर पूर्ण रुपमा यो नियन्त्रणमा आउन सकेको छैन।

मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलीगठ्ठा, लागुऔषध तथा प्रतिबन्धित औषधीलगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रूपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रूपमा छलफल हुने गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबिच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क सञ्चालन, खेलकुद तथा विविध अभ्यासलाई समेत निरन्तरता दिइने बैठकबाट सहमति हुने गरेको तर व्यवहारमा लागू गर्न खोज्दा अप्ठेरो अवस्था आएको सुरक्षा अधिकारीहरुले जनाएका छन्।

 


सम्बन्धित समाचार
भर्खरै