१० माघ,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकिएको छ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो। आज सरकारी वकिलको बहस सकिए पनि लामिछानेका वकिलहरूको पालो आएन।
आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् । पीडित पक्षको दुई वकिलको बहस पनि बाँकी रहेको छ ।
रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको जानकारी दिए।
रविलाई हिजो जस्तै आज पनि परिवारको जिम्मा लगाइएको छ। सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन्।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन्।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ।
सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत बैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाइ भने पुरक उजुरीमा राखिएको हो।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो।
उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्। बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा रविले सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।