Logo

११ माघ, वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय सचिवमा मिरोज अहमद निर्विरोध निर्वाचित भएका छन् । २३औं राष्ट्रिय सम्मेलनबाट शनिबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनमा केन्द्रिय सचिव (मुस्लिम) मा मिरोज अहमद निर्विरोध निर्वाचित भएका हुन् ।

सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको थियो । अर्का उम्मेदवारको दाबी विरोध परेपछि मिरोज निर्विरोध निर्वाचित भएका हुन् । यसअघि संगठनको केन्द्रीय सदस्य रहेका मिरोज अहमद ३३ जना पदाधिकारीको सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

अन्य पदाधिकारी तथा सदस्यहरुका लागि भने शनिबार निर्वाचन हुदैछ । सचिवमा निर्विरोध निर्वाचित भएका अहमदले शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्न केन्द्रीत रहदै शैक्षिक क्रान्तिमा साथ र सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अखिल (क्रान्तिकारी) मा ३२ बर्षे उमेर हदको विषयमा व्यापक विवाद र बहसपछि मतदानबाट उमेर हदको निर्णय भएको थियो । त्यसपछि माघ १२ गतेका लागि निर्वाचन तालिका तोकिएको थियो । मधेस प्रदेशको जनकपुर केन्द्रमा निर्वाचन हुनेछ ।

पर्साबाट लेखा समितिको उपाध्यक्षमा गायत्री सिंह पनि निर्विरोध निर्वाचित भएकी छिन् । सिराहाकी सिंह माल पर्सा जिल्लामै स्थायी बसोवास गर्दै आएकी छिन् ।

त्यस्तै केन्द्रीय उपाध्यक्षमा शिवम कुमार साह, उपमहासचिवमा विवेक कुमार साह, सचिवमा संदीप विक्रम साह, अभिषेकराज ठाकुर लगायतले उम्मेदवारी दिएका छन् ।

यसपटक अखिल क्रान्तिकारीको नेतृत्वका लागि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’को समूहले प्यानल नै बनाएर निर्वाचनमा होमिएको छ । अन्यको भने प्यानल मिल्न नसक्दा आ–आफुले उम्मेदवारी दिएका छन् ।


सम्बन्धित समाचार