Logo

१२ माघ, काठमाडौँ । सन् २०२४ मा अत्यधिक प्रतिकूल मौसमका कारण २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

बालबालिकासम्बन्धी  हेर्ने निकाय (युनिसेफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा ८५ देशका बालबालिका प्रभावित भएका र सबैभन्दा धेरै गर्मीको चपेटामा परेका उल्लेख छ ।

जलवायुजन्य जाेखिमबाट बढी प्रभावित दक्षिण एशियामा मात्रै १२ करोड ८० लाख विद्यालयका बालबालिका प्रभावित भएका छन् । कक्षाहरूमा अनुपस्थित भएका, बिदाहरू थपिएको, विद्यालय पुनः खोल्न ढिलाइ भएको, समय तालिकाहरू परिवर्तन भएको र विद्यालयहरूसमेत क्षतिग्रस्त वा नष्ट भएको तथ्याङ्कले देखाएको छ ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसलले निकाल्नुभएको विज्ञप्तीमा धेरै बालबालिका अत्यधिक गर्मीको मारमा परेका र केही ठाउँमा चिसोले पनि उत्तिकै असर गरिरहेको उल्लेख छ ।

कार्वन उत्सर्जनका कारण पृथ्वीको औसत तापक्रम बढिरहेको र त्यसैका कारण मौसमको ढाँचा परिवर्तन हुँदा बालबालिकाको शिक्षा प्रभावित भइरहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२४ मा विश्वको औसत तापक्रम उच्च बिन्दुमा पुगेको छ । केही वर्षदेखि चिसोयाम बढी चिसो, सुक्खायाम बढी सुक्खा तथा गर्मी र आँधीबेहरी तीव्र हुँदा मौसमजन्य विपत्तिहरु पनि बढेका छन् ।

युनिसेफले जलवायु जोखिम प्रतिरोधी कक्षाकोठामा लगानी गर्न पनि आह्वान गरेको छ ।


सम्बन्धित समाचार