१३ माघ,वीरगञ्ज । बहुदरमाई नगरपालिकाको शिक्षकहरुको समस्या समाधानका लागि नेपाल शिक्षक महासंघ पर्साले एमाले पार्टीलाई गुहार्दै मुख्यालय नै पुगेको छ । बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेलीको अर्कमण्यताले अहिलेसम्म विद्यालयका शिक्षक तथा कर्मचारीहरुले तलब सुविधा नपाएको र पटक पटक सरकारलाई गुहार्दा समेत कुनै सुनुवाई नभएपछि समस्या समाधानका लागि एमाललेलाई गुहारेको हो ।
पर्साको बहुदरमाई नगरपालिकाको केही वडा पर्साको निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताकै क्षेत्रमा पर्ने भएकोले पनि शिक्षक महासंघले पर्साको जिल्लादेखि केन्द्रसम्मको एमालेलाई समस्या समाधानका लागि गुहारेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार, शिक्षामन्त्री पनि एमालेकै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एमालेकै र उहाँको निर्वाचन क्षेत्र पनि पर्ने भएकोले सृजित समस्या समाधान गर्न एमाले केन्द्रीय कार्यालयमै ज्ञापनपत्र मार्फत अनुरोध गरेको महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवले बताए ।
शिक्षक महासंघले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । बर्दिवासमा आउनुभएका महासचिव पोखरेललाई शिक्षक महासंघको टोलीले पर्साबाट बर्दिवासमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।