१४ माघ, काठमाडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत बिहिबारदेखि भइरहेको सुनुवाइ आज सकिएपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेबाट एक करोड रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
लामिछानेको तर्फबाट आज वरिष्ठ अधिवक्ताद्वय रमणकुमार श्रेष्ठ र पशुपति भण्डारी तथा अधिवक्ता नारायणदत्त कँडेलले बहस गरेका थिए. । यस्तै जाहेरीकर्ताको तर्फबाट गत शुक्रबार डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए ।
यसअघि लामिछानेले कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएका थिए । अब चितवन र पर्सा जिल्ला अदालतमा उनको मुद्दाको सुनुवाइ हुन बाँकी छ ।