१४ माघ, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित गुल्म बीरगञ्जले आदर्शनगरको ट्रान्सपोर्टमा छापामारी गरी भन्सार छलिको सामान बरामद गरेको छ । विशेष सूचनाको आधारमा आज बिहान बीरगञ्जको आदर्शनगर स्थित जय दुर्गा रोड क्यारियर्सले गोदाम भाडामा लिएर राखको २ वटा पक्की घरको भूइँतलाबाट भन्सार छलिको सामान बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको ३१ जना सशस्त्र प्रहरी र बीरगञ्ज भन्सार कार्यालय पर्साबाट नायव सुब्बा सन्दिप पराजुलीको नेतृत्वमा खटिएको ४ जना गरी ३५ जनाको संयुक्त टोलीले गोदामबाट सामान बरामद गरेको शसस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिए ।
भारतबाट भन्सार छली चोरीपैठारी गरि अवैध रुपमा भित्रयाएर गोदाम गरि राखेको अवस्थामा विभिन्न कपडाका २८ पोका र हार्डवेयर एकपोका गरी २९ पोका सामानहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि भन्सार बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।