१५ माघ,वीरगञ्ज । प्रेस सेन्टर नेपाल २१औँ स्थापना दिवस वीरगञ्जमा पनि मनाइएको छ । प्रेस सेन्टर जिल्ला समन्वय समिति पर्साले वीरगञ्जमा प्रभातफेरी र रक्तदान गरेर स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा रक्तसञ्चार केन्द्र वीरगन्जमा भएको रक्तदानमा एक महिला सहित २१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा प्रेम कुमारी अधिकारी, शिवनाथ यादव, दीपक गौतम, अजित कुमार भुजेल, संजित गुप्ता, रञ्जित यादव, संजोग गिरी, शब्दर हुसैन, विशाल पटेल, रञ्जित पाण्डे, सलाउद्दीन अन्सारी, बलिराम यादव, अमिर मन्सुरी, कृष्णा दास, कन्हैया महतो लगायत २१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिए ।
यसअघि रक्तदानको नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेंल र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले रक्तदाताहरुलाई रगत संकलन गर्ने ब्लड ब्याग हस्तान्तरण गरेर उदघाटन गरेका थिए । त्यसअघि वीरगञ्जको घण्टाघरबाट सुरु भएको प्रभातफेरी माईस्थान, आदर्शनगर चोक, घडिअर्वा लगायत नगरको विभिन्न परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन भएको थियो ।
प्रभातफेरीपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले संगठनको २१ औं स्थापना दिवसको शुभकामना दिए । पत्रकारितामा लागेकाहरु पनि यहि समाजको भएकोले सामाजका सामाजिक उत्तरदायित्वमा जिम्मेवार रहने बताए ।
रगतको अभाव भयो भनेर समाचार लेख्दैमा पत्रकारको दायित्व पूरा नहुने भएकोले प्रेस सेन्टरले रक्तदानको कार्यक्रम अन्यन्त सराहनीय रहेको बताए । रगतको अभावले छटपटिएका बिरामीहरुलाई रगतको अभाव हुन नदिन प्रेस सेन्टरले आयोजना गरेको रक्तदान महत्वपूर्ण काम भएको उनले बताए । उनले पत्रकारको हकहित र पेशागत संरक्षणको लागि प्रेस सेन्टर सक्रिय संस्था भएको बताए ।
उनले पत्रकारितालाई व्यवसायिक बनाउनका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । नागरिकका समस्यालाई उजागर गर्न र सुसूचित गराउने भूमिकालाई पूरा गर्ने कार्यमा एकढिक्का भएर लागेमा पत्रकारिता पनि व्यवसायिक हुने र पेशागत समस्या सृजना नहुने उनको विश्वास छ ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटे मगेर, सेन्टरका पर्सा जिल्ला निवर्तमान अध्यक्ष एवम् पत्रकार महासंघ मधेश प्रदेश सचिव दिपक गौतम, पत्रकार महासंघ पर्साका सचिव एवम् प्रेस युनियन पर्साका अध्यक्ष बिजय चौहान, प्रेस सेन्टरका मधेस प्रदेशका सदस्यहरु, जिल्लाका पदाधिकारी सदस्यहरु अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलले गरेका थिए ।