Logo

१६ माघ,वीरगञ्ज । आज शहिद दिवस वीरगञ्ज सहित देशभर मनाईएको छ । शहिद दिवसको अवसरमा आज वीरगञ्जको घण्टाघर स्थित शहिदपार्क, नारायणी अस्पताल र गण्डक चोकमा रहेका शहिदहरुको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा वीरगन्जको घण्टाघरदेखि उत्तरतर्फ रहेको शहिदपार्कमा राखिएको मधेस आन्दोलनका शहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले शहिदले देखाएको सपना पूरा गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

राजनीतिक दलका प्रतिनिधिहरुले राज्यपक्षबाट पहिलो पटक वीरगन्जमा शहिद दिवस मनाएको धन्यवाद दिदै यसको निरन्तरता हुनुपर्ने बताए । शहिदहरुले दिएको बलिदानले अहिले स्वतन्त्रता र लोकतन्त्र स्थापित भएको बताउदै यसलाई अझ उन्नत खालको बनाउन सबैपक्ष जिम्मेवार हुनुपर्ने बताए ।

कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, राप्रपाका जिल्ला सचिव पन्नालाल पटेल, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले मन्तव्य व्यक्त गर्दै शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी निशानराज गौतम, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्रसिंह धामी, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई लगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यस्तै नेपाली काँग्रेस पर्साले वीरगञ्जमा सहिद दिवसको अवसर पारेर १० जना अग्रजहरूलाई सम्मान गरेको छ । वीरगञ्ज –१४ गण्डक चोकस्थित सहिद तेजबहादुर अमात्यको सालिक परिसरमा आज आयोजित एक विशेष कार्यक्रममा लोकतन्त्र, मानव अधिकार तथा समाज सेवामा उल्लेखनीय योगदान पु¥याउनेहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मधेस प्रदेशका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीले नगेन्द्र पटेल, याकुब अन्सारी, लालबहादुर राउत कुर्मी, शान्ति कार्की, लक्ष्मण प्रसाद कुर्मी, लाल महमद मियाँ, जमिला खातुन, पार्वती देवी, नेत्र बहादुर केसी र हिराकान्त चौधरीलाई दोसल्ला ओढाएर सम्मान प्रदान गर्नुभयो ।

सम्मानित गर्दै मन्त्री क्षेत्रीले सहिदहरूको सपना पूरा गर्ने आफ्नो दायित्व रहेको सम्मानित गरिएका व्यक्तित्वहरूले पनि त्यसैमा ठूलो योगदान दिएको बताउनुभयो । उनीहरूको योगदानले आफूहरूलाई प्रत्येक दिन नयाँ सङ्कल्पका साथ अघि बढ्न प्रेरणा दिइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य श्याम पटेलले सम्मानित व्यक्तित्वहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन र सञ्चालन क्षेत्रीय सचिव रञ्जित कुमार पटेलले गरेका थिए ।


सम्बन्धित समाचार