Logo

१६ माघ,वीरगञ्ज । राष्ट्रिय खोप कार्यक्रम अभियान अन्तर्गत रौतहटमा झन्डै ५० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका ४९ हजार २६९ जना किशोरीलाई खोप लगाइने भएको हो ।

खोप कार्यक्रम अभियानका लागि जिल्लाको १८ वटै स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी सोही अनुसारको जनशक्ति व्यवस्थापन गरिसकेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । कार्यालयले जिल्लाका सबै पालिकाका २०६ सामुदायिक तथा १०८ संस्थागत गरी तीन सय १४ वटा विद्यालयका विद्यार्थीहरुको गणना गरेको छ ।

जसअनुसार विद्यालय जाने ३९ हजार २१८ र विद्यालय बाहिरका १० हजार ५१ गरी कुल ४९ हजार २६९ जनालाई यो खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश सिंहले बताए ।

उनका अनुसार एचपीभी खोप कार्यक्रम रौतहटमा दुई चरणमा हुने छ । पहिलो चरणको अभियान अन्तर्गत अगामी माघ २३ गते देखि फतुवा विजयपुर, मौलापुर, बौधीमाई, गढीमाई, कटहरिया, देवाही गोनाही, राजपुर, परोहा र इशनाथ नगरपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।

त्यस्तै दोस्रो चरणमा माघ ३० देखि गौर, राजदेवी, दुर्गा भगवती, यमुनामाई, माधवनारायण, गरुडा वृन्दावन, गुजरा र चन्द्रपुर नगरपालिकामा खोप कार्यक्रम सञ्चालनको तयारी गरिएको बताइन्छ ।

यसैगरी जिल्लाभर ३८० वटा केन्द्र स्थापना गरी खोप लगाइने तयारी स्वास्थ्य कार्यालयको छ । भने एक खोप केन्द्रका एक जना खोप कर्ता तथा दुइ जना स्वयम्सेवक परिचालित गरिने प्रमुख सिंह बताउँछन् ।

जसअनुसार जिल्लाभर खोप अभियान सहजताका लागि ३८० जना खोपकर्ता तथा ७६० जना स्वय्मसेवकहरु खटाइने जनाइन्छ ।


सम्बन्धित समाचार