१८ माघ,वीरगञ्ज । झण्डै एक शताब्दी पूरानो वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन निर्माणका लागि दबाव दिन सडकमा धर्ना बसेका छन् । अस्पतालको भवन निर्माणका लागि दबाव दिन शुक्रबार नारायणी अस्पताल अगाडि चिकित्सकहरु धर्ना बसेका हुन् ।
नारायणी अस्पताललाई ५०० शैयाको भवन निर्माणको लागि टेण्डर आह्वान भएपनि अहिले उक्त टेण्डरको विरुद्धमा अदालतमा मुद्दा परेपछि रोकिएको छ । नारायणी अस्पताललाई पाँचसय शैय्याको बनाउने यसअघि सरकारले निर्णय गरेपनि भवन निर्माणमा भने कुनै चासो छैन ।
त्यसैले नारायणी अस्पतालका चिकित्सकहरु भवन निर्माणको दबाव दिन संघर्ष समिति नै बनाएर धर्नामा बसेका हुन् । संघर्ष समितिले शुक्रबार विहान ११ बजेदेखि अस्पताल अगाडि सडकमै धर्नामा बसेका छन् । अस्पतालको भवन निर्माणको लागि टेण्डर भएपनि अहिले उक्त टेण्डरमा कानूनी उल्झन आएको र निर्माणमा ढिलाई भएकोले चिकित्कस, स्वास्थ्यकर्मी, नागरिक समाज लगायत स्थानीयहरु सहित सडकमा ओलिएको संघर्ष समितिका संयोजक डा. निरज कुमार सिंहले जानकारी दिए ।
अस्पतालको भवन निर्माणको लागि पटक पटक आग्रह गर्दापनि निर्माण हुन नसकेपछि बाध्य भएर अस्पताल भवन निर्माणका लागि सडक नै अवरुद्ध पारेर धर्नामा बस्न बाध्य भएको संघर्ष समितिका संयोजक डा. सिंहको भनाई छ । स्वास्थ्य पूर्वाधार निर्माणका लागि पहिलो पटिक चिकित्सक र स्वास्थ्यकर्मीहरु एप्रोन नै लगाएर सडक जाम गर्न बाध्य भएको संयोजक डा.सिंहले बताउनुभयो ।
नारायणी अस्पतालमा अहिलेसम्म दाताहरुको सहयोगमा बाहेक कुनैपनि सरकारले अस्पताल निर्माण गरेको छैन । १०० वर्षभन्दा लामो इतिहास बोकेको अस्पतालमा बीरगञ्जका धेरैजसो व्यापारीहरू तथा उद्योगवाणिज्य सङ्घले समय र आवश्यकता अनुसार भौतिक संरचनाहरू निर्माण गरिदिएर यो अस्पतालले यस क्षेत्रको जनतालाई आफ्नो सेवा प्रदान गर्दै आएको गौरवशाली इतिहास छ। सरकारी र विकास समिति तर्फबाट ३०० शैय्यामा सञ्चालन भईरहेको छ । अहिलेसम्म नेपालको कुनै पनि सरकार परिवर्तन भएपनि अस्पताल निर्माण गर्न सकेको छैन ।
पञ्चायती व्यवस्था, प्रजातान्त्रिक, लोकतान्त्रिक र संघीय गणतान्त्रिक सरकारले एउटा पनि भौतिक संरचना अहिलेसम्म नबनाएको र वीरगञ्ज सहरका महान दाताहरूले बनाइदिएको पूरानो भौतिक संरचनाको भरमा अस्पतालले सेवा दिँदै आएको तितो यथार्थ रहेको संघर्ष समितिका संयोजक डा.सिंह बताउछन्।
आर्थिक वर्ष २०७४÷७५ को एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नेपाल सरकारले प्रत्येक प्रदेशमा ५०० शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुरूप मधेस प्रदेशको एकमात्र केन्द्रीय अस्पताल नारायणी अस्पतालको भवन अनुमानित लागत १ अर्ब ५५ करोड ५३ लाख ८४ हजार ७५ रूपैयाँमा टेन्डर प्रक्रिया अगाडि बढेर एकमात्र बोलपत्रदाता NDE/VCPl /SSNC ललितपुर पुल्चोक ले टेन्डर पाएको थियो। बोलपत्र निर्माण प्रक्रियामा पूर्णता परीक्षण गर्दा एउटा कम्पनीको राजस्व दाखिला नदेखिएपछि सहरी विकास तथा भवन निर्माण विभाग र टेन्डर कम्पनीको विवाद अदालतको न्यायिक निरुपणको प्रक्रियामा रहेको छ। अस्पतालको जीर्ण भवनले गर्दा यस क्षेत्रको जनताले निकै दुःख खेप्नु परेको छ ।
यस अस्पताल र यहाँका स्वास्थ्यकर्मीहरूले आफ्नो क्षमता अनुरुप पनि गरिब निमुखा जनतालाई सेवा दिन नसकेको तिथो यथार्थ तथा बाध्य भएर अरु सहरहरूमा बिरामी रेफर गर्नुपर्ने बाध्यकारी अवस्था रहेको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका संघर्ष समितिका संयोजक डा.सिंह बताउछन् ।
बारा पर्सा रौतहट सर्लाही तथा छिमेकी राष्ट्र भारतको गरिब जनताहरूको पनि आस्थाको केन्द्र रहेको यस यस अस्पतालले झण्डै ३० लाखभन्दा बढी नेपाली जनसङ्ख्यालाई सेवा दिँदै आएको गौरवशाली इतिहास छ। नाराणी अस्पतालको समस्याको विषयमा पर्साका सांसदहरूले संसदमा पनि जोडदार माग उठाएकै हुन्।
तर, संसदमा उठाएका मागहरू पनि सम्बोधन नहुँदा यस क्षेत्रका जनता तथा स्वास्थ्यकर्मीहरू निकै हतोत्साहित भएको डा.सिंहले बताए । नेपालमा धेरै कुरा प्रातिका लागि नागरिक समाज तथा विभिन्न राजनीतिक दलहरूले आन्दोलन गर्ने गरेको भएपनि अस्पताल जस्तो संवेदनशील विषयलाई अहिलेसम्म पनि यस क्षेत्रका नागरिक समाज तथा राजनीतिक दलहरूले आन्दोलनको विषय नबनाएकोले यस क्षेत्रका जनता तथा स्वास्थ्यकर्मीहरू निकै दुःखी पनि भएको उनले बताए । अहिले बाध्य भएर उनीहरु सडकमा उत्रिनु परेको आन्दोलनकारीहरुको भनाई रहेको छ ।