Logo

१८ माघ,काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन्।

शुक्रवारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेको र दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकतानुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्ने बताए।

उनले राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन हुनुपर्ने बताए। उनले लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिरहे पनि आर्थिक अवस्था सुदृढ हुन नसकेको बताए। देशको आर्थिक अवस्था उकास्न जरुरी रहेको बताए।

देउवाले भने‚ ‘दश वर्षको अवधिमा संविधानको अभ्यासको समीक्षा गर्ने, संविधान कार्यान्वयनमा देखापरेका सबल र दुर्बल पक्षको अध्ययन र पहिचान गर्ने र आवश्यकतानुसार संविधान संशोधन वा परिमार्जन गर्नुपर्छ। संविधान संशोधन गर्दा बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिता लगायतका संविधानका आधारभूत विशेषता कमजोर हुनु हुँदैन। राजनीतिक दलहरूका बीचमा सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्छ। हामी लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौँ तर आर्थिक अवस्था सुदृढ हुन सकेको छैन।’

सभापति देउवाले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन भएको उल्लेख गर्दै कानून निर्माणको थलो संसद् भएको बताए।


सम्बन्धित समाचार