१९ माघ, सेढवा । पर्सा जिल्लामा ठूलो स्वरमामा बजाइने बाजा तथा डिजे प्रतिबन्ध गरिएको करिब ५ महिना बिति सक्दा पनि कार्यन्वनमा आउन सकेको छैन। २०८१ साल भदौ २१ गते जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय अनुसार जिल्ला भित्र कुनै पनि कार्यक्रममा मानवीय स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्ने गरी ठूलो स्वरमा बाजा तथा डिजे बजाउन नपाउने निर्णय गरेको थियो ।
सोही निर्णय कार्यान्वयनको लागि जिल्ला प्रहरी कार्यालय पर्साले मिति २०८१ भदौ २३ सूचना जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको सूचनामा कुनै पनि राजनितिक तथा धार्मिक सांस्कृतिक कार्यक्रम, चाडपर्व, धार्मिक र्याली, जुलुस, सम्मेलन, बैठक एवम् प्रचार प्रसारात्मक क्रियाकलाप गर्दा मानव स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्ने गरी ठूलो स्वरमा बाजा बजाउन प्रतिबन्ध लगाईएको थियो ।
स्वास्थ्यमा प्रभाव पर्ने गरी लाउडस्पीकर, डिजे, ठूलो स्वरमा बजाउने, आतिशबाजीहरु गर्ने क्रियाकलाप प्रतिबन्ध गर्ने वा गरेमा कार्यवाही गर्ने भनिएको थियो । तर, सूचना प्रकाशन भएपनि खासै कुनै साकारात्मक प्रभाव भने देखिएका छैन।
जिल्लामा हुदै आएका बिभिन्न राजनितिक दलका कार्यक्रम, बिभिन्न समूदायका परम्परागत चाडवाडका उत्सव, महोत्सव तथा अन्य कार्यक्रममा प्रहरीका उच्च अधिकारीहरुकै सहभागितामा ठूलो स्वरमा लाउडस्पीकर तथा डिजे ल्याएका भेटिन्छ।
यसका साथै बैवाहिक कार्यक्रममा बिभिन्न किसिम्मको अश्लील भोजपुरी गीत संगीत बजाउने हुँदा समाजमा झनै कुरिती तथा बिसंगतीले प्रबेश पार्इरहेको स्थानीय बुद्धिजीवीहरुको गुनासो रहेका छन्।
जीराभवानी गाँउपालिका वडा नं.– २ मा को सेढवा स्वास्थ्य चौकीका प्रमुख ज्ञानकिशोर प्रसादका अनुसार ठूलो स्वरमा बजाउने डिजे तथा लाउडस्पीकरका कारण दीर्घरोगी, बच्चा तथा बृद्धको स्वास्थ्यमा एकदमै नाकारात्मक प्रभाव पर्ने गरेको बताए।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता प्रहरी नायब उपरिक्षक सुभाष भट्टका अनुसार सूचना जारी भएपछि केही सुधार भएको दाबी गरे। समूदायमा यो बिकृती धेरै पहिलेदेखि हाबी भएकाले यसलाई न्यूणीकरण गर्न समय लाग्ने नायब उपरिक्षक भट्टको भनाई छ । यस्ता बिकृती हटाउन हरेक पक्षबाट पहल हुन आवश्यक रहेको भट्टले बताए ।

















