२३ माघ, बारा । बाराको सिमरास्थित मामाघर आएका तीन वर्षीय बालक एकहप्तादेखि बेपत्ता भएका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–७ रन्जित जैसवालको घर अगाडिबाट तीन वर्षीय बालक बेपत्ता भएको बारा प्रहरीले जनाएको छ । बेपत्ता हुनेमा रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका तीन वर्षीय छोरा हन्स चौधरी रहेको बारा प्रहरीले जनाएको छ।
उनी यही १७ गते मामा जैसवालको घर अगाडिबाट खेल्नेक्रममा बेपत्ता भएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
रातो कलरको हुड र ब्लु रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको बारा प्रहरीले जानकारी दिएको छ। बेपत्ता बालकको प्रहरीले खोजीकार्य भइरहेको प्रहरी भनाइ छ ।
परिवार र नेताद्वारा इनामको घोषणा
जीतपुरका विभिन्न स्थानमा रहेको सि.सि.टि.भि. क्यामराको फुटेजमा बालक एक्लै देखिएपनि उनको अहिले सम्म अवस्था अज्ञात नै छ । । जसले गर्दा परिवारजन निकै आक्रोशित र चिन्तित छन् ।
बालकका आमा र हजुरआमा लगायतका अन्य परिवारका सदस्यहरु समय–समयमा बेहोस हुने अवस्था पुगेका छन् । परिवारले बालकको अवस्थाबारे जानकारी दिने जो कोहीलाई रु १ लाख पुरस्कार दिने घोषणा गरेको छ ।
यसैविच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले पनि खोजीमा मद्दत गर्ने व्यक्तिलाई रु ५१ हजार प्रदान गर्ने बताएका छन् । पूर्वमन्त्री श्रेष्ठले बारा जिल्ला, पर्सा जिल्ला र मधेश प्रदेशका सुरक्षा प्रमुखहरूसँग फोनमार्फत संवाद शुरु गरेका छन् । उनले परिवारका सदस्यहरुलाई घरमै भेटेर बच्चालाई खोज्न आफुले कुनै कसर बाँकी नछोड्ने प्रतिबधता ब्यक्त गर्दै आश्वसन बाँडेका छन् । उनले आफनै गाडिबाट बारा र पर्साको संकास्पद स्थानमा पुग्ने गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक सन्तोष तामाङले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै खोजी कार्यलाई तीव्र पारिएको बताएका छन् । प्रहरीले हराएका बालकलाई खोज्न विशेष टोली परिचालन गरिसकेको उनको भनाई छ ।