२३ माघ,झापा । झापाको कनकाई नगरपालिका–४ को भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई जना भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
भारतको बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका गोली चलाएर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ३० ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको प्रहरीको भनाइ छ । मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ । घाइते अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार उनीहरु चढेको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा दुवै जना भाग्न खोजेपछि गोली चलाउनु परेको हो । प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ ।