Logo

२३ माघ,वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले देशमा देखिएको संकट टार्नका लागि कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् । नेकपा एमाले पर्साको आज आयोजना गरिएको अभिमूखीकरण कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले सरकार ढाल्ने र ढल्ने भईरहेको बेलामा मुलुकको दुर्भाग्य रोक्नका लागि कांग्रेस र कम्युनिष्ट मिल्नुपर्छ भनेर मिलेको स्पष्ट पारे ।

परिवर्तनलाई टिकाउन १० बर्षसम्म समझदारी गर्न नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले पनि प्रस्ताव राख्नुभएको स्मरण गर्दै नेता पोखरेलले अहिले कांग्रेससँग मिलेर सरकारमा बसेपनि भोली निर्वाचनमा कांग्रेससँगै प्रतिस्पर्धा गर्ने बताए ।

नेपाली कांग्रेससँग नेपालका कम्युनिष्टहरु कहिले मिल्ने र कहिले प्रतिस्पर्धा गर्ने गरेको इतिहास रहेको बताउदै नेपालको राष्ट्रिय राजनीति कांग्रेस र कम्युनिष्ट दुईवटा धु्रवमा विभाजित रहेको बताए । उनका अनुसार एउटा कांग्रेसले नेतृत्व गरेको र अर्को कम्युनिष्टले नेतृत्व गरेको धु्रबीय राजनीति मात्रै नेपालमा रहेको बताउदै अन्य सानातिना दलहरु हिसाबमै नगनिने बताए ।

यीनै दुईवटा ध्रुवमा ध्रुविकृत नेपालको राष्ट्रिय राजनीतिमा कहिले मिल्ने र प्रतिस्पर्धा गर्ने गरेको प्रष्ट्याए । राणाशासन अन्त्य गर्न, ०१७ सालको पञ्चायत हटाउन, ०४६ को जनआन्दोलन र २०५८ मा ज्ञानेन्द्र शाहको शासन हटाउन पनि कांग्रेस र कम्युनिष्ट मिलेको दृष्टान्त दिदै उनले संविधान जारी गर्ने समयमा पनि कांग्रेस र कम्युनिष्ट मिलेको बताए ।

कांग्रेस र कम्युनिष्ट मिलेका मात्रै नभई प्रतिस्पर्धा पनि गरेकोले मिसन २०८४ मा भने नेकपा एमालेले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष डा.विश्वम्भर शर्माले दिएको सदस्यताको तथ्यांक र संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गरेको तथ्यांकमा फरक परेको पाईएको थियो ।

पार्टीका जिल्ला अध्यक्ष शर्माले पर्सामा १३ हजार ६६५ पार्टीमा सदस्य रहेको दावी गरिरहँदा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले भने लगभग ६/७ हजार पार्टी सदस्य भनेपछि आफू अलमलमा परेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।


सम्बन्धित समाचार