![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/Gahu_khet.jpg?fit=2048%2C899&ssl=1)
२५ माघ, सेढवा (पर्सा) । पर्सा जिल्लाका किसानहरूले अहिले गहुँबालीका लागि रासायनिक मलको अभाव झेल्नुपरेको गुनासो गरेका छन् । गहुँबालीमा अन्तिम पटक रासायनिक मल छर्ने बेलामा पनि किसानहरूलाई मलको व्यावस्था नहुँदा अभाव झेलिरहेका हुन् । किसानहरूले भारतीय बजारबाट मलको अभाव पूर्ति गर्ने गरेका छन् ।
अहिले गहुँबालीको लागि युरिया मल आवश्यक पर्ने जीराभवानी गाउँपालिका–२ सेढवाका किसान रोगाही चौधरीले बताउँछन । गहुँको बाला (गाभा पलाउने) उम्रने बेलामा अन्तिम पटक युरिया मल छर्नु पर्ने किसान चौधरीले बताए । अहिले प्रतिकट्ठा साढे दुई किलोको दरले छर्नुपर्ने उनले बताए । तर, अहिले स्थानीय कृषि सहकारी संस्थाहरूमा रासायनिक यूरियाको मल अभाव रहेको छ जसले गर्दा किसानहरुले सीमापारि भारतबाट मल ल्याउन बाध्य छन् ।
गहुँबालीको लागि शुरूमा बीउ छर्दा प्रतिकट्ठा तीन किलो डिएपी र डेढ डेढ किलो युरिया र पोटास आवश्यक पर्ने र त्यसको एक महीनापछि प्रतिकट्ठा दुई किलोको दरले युरिया गहुँबालीमा छर्दै आएको किसान चौधरीले बताए । तीनपटक मल आवश्यक भएको बेलामा यस वर्ष पनि नेपाली किसानहरूले रासायनिक मलको अभाव झेल्नुपरेको किसानहरुले गुनासो गरे ।
सिमापारीको भंगहा, इनरवा, मैनाटाड, सिकटा लगायतका भारतीय बजारमा ४५ किलो बोराको युरिया मल रु आठ सय देखि नौ सयमा पाईने गरेको छ । किसानहरूलाई एक–दुई बोरासम्म मल दुवैतर्फका सीमामा खटेका सुरक्षाकर्मीहरूले ल्याउन रोक लगाउने गरेका छन् । यसको फाइदा उठाएर केही व्यापारीहरूले तस्करी मार्फत दुई–चार बोराको सङ्ख्यामा साइकल मार्फत ढुवानी गर्ने र ग्रामीण भेगमा महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।
जगरनाथपुर गापा–३ का गिरजा महरा चमारले भारतबाट सस्तो मूल्यमा मल ल्याएर व्यापारीहरूले महँगोमा किसानहरूलाई बिक्री गरिरहेका बताउनुभयो । उहाँले नेपालमा ५० किलो बोराको युरिया रु ९५० मा बिक्री हुँदै आएकोमा भारतबाट ल्याइएको ४५ किलोको बोरा एक हजारसम्ममा बिक्री हुने गरेको बताए ।
अहिले जिल्लाका अधिकांश व्यापारीले किसानको नाममा भारतबाट मल ल्याउने र महँगोमा बिक्री गरिरहेका छन् । यसतर्फ स्थानीय पालिका र सुरक्षाकर्मीहरूले ध्यान दिन नसकेका स्थानीय किसानको गुनासो छ ।
विशुद्ध किसानहरूको लागि भारत र नेपालका सुरक्षाकर्मीहरूले एक–दुई बोरा मल ल्याउन छुट दिएकामा त्यसको फाइदा सिमा आसपासका व्यापारीहरुले लाभ उठाईरहेको छ ।
यता जिराभवानी गाउँपालिका वडा नं २ सेढवामा रहेका मारुतिनन्दन कृषि सहकारी संस्थाका अध्यक्ष सत्यनारायण साहले कृषि सामग्री संस्थान कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेड बीरगंजमा बुझ्दा रासायनिक मल यूरिया नरहेको बताए ।