![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/donald-trump_I2CgKfLZyn_Xg3pekNbsU.jpg?fit=800%2C534&ssl=1)
२५ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टन भ्रमणमा रहेका बेला ट्रम्पले सो अदालतलाई प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।
गाजा क्षेत्रमा बर्बर आक्रमण गरेर युद्ध अपराध गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतले सन् २०२१ को नोभेम्बरमा इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री योव गालान्टमाथि गिरफ्तार वारेन्ट जारी गरेको थियो ।
ट्रम्पले सोही अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलको साथमा रहेको सन्देश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय अपराध अदालतको अमेरिका र इजरायल दुवै सदस्य छैनन् ।
उनीहरु दुवैले यो न्यायालयलाई मान्यता पनि दिएका छैनन् । रुस र चीन पनि यो न्यायालयको सदस्य छैनन् ।नेदरल्याण्डको शहर द हेगमा अवस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतका १२४ देश सदस्य छन् । यो २००२ मा स्थापना भएको थियो ।
आईसीसीका सदस्य देशहरूले गिरफ्तारी वारेन्टमा आ्फ्नो सीमाभित्र रहेर कारबाही गर्न सक्दछन् । तर यसमा गिरफ्तार नै गर्न बाध्य भने हुँदैनन् ।
इजरायलमा ७ अक्टुबर २०२३ मा हमासले आक्रमण गरेको थियो । सो हमलामा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो ।
नेपालका विपिन जोशीसहित २५० भन्दा बढीलाई हमासले बन्धक बनाएको थियो । यही आक्रमणपछि इजरायलले हमास लक्षित कारबाही सुरु गरेको थियो ।
इजरायलको आक्रमणबाट झण्डै ४६ हजार व्यक्ति मारिएको मिडिया रपोर्टहरु सार्वजनिकाभएका छन् । अहिले भने युद्धविराम भएकाले एकअर्काले बन्दीलाई रिहा क्रम चलिरहेको छ ।
सन् २०२५ जनवरी १५ मा इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति भएको थियो । कार्यान्वयन भने १९ जनवरीदेखि भएको थियो ।