![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/Telhan.jpg?fit=2048%2C922&ssl=1)
२५ माघ, सेढंवा । पर्सामा तेलहन बाली अन्तर्गत तोरी उत्पादनको हब मानिएको ठोरी गाउँपालिकाका किसानहरुलाई अहिले तोरी उखेल्न भ्याई नभ्याई छ। मंसिर महिनामा छरिएको तोरी अहिले पाकिसकेका कारण तोरी बाली भित्र्याउन किसानहरुलाई नभ्याई भएको हो।
तोरी खेती धेरै हुने भएकैले तोरी शब्द अपभ्रंस भएर ठोरी नाम रहन गएको ठोरी गाउँपालिकामा मुख्य नगदेबाली अन्तर्गत तोरीबाली र सुर्ती बाली हुने गरेको छ।
तर यसबर्ष किसानहरुले सुर्ती रोपीसकेपछि बेमौषमी बर्षाले सुर्तीका बोटहरु नष्ट भएका कारण सुर्ती रोपेका किसानहरुले बाध्य भएर तोरी बाली लगाएका थिए। गतबर्षको तुलनामा यसबर्ष तोरी बाली २५ प्रतिशतले बृद्धि भएको किसानहरुले बताएका छन्।
बेमौसमी बर्षाले सुर्ती बालीलाई क्षति पु¥याए पनि तोरी बालीका लागि निकै फाईदा पुगेको ठोरी गाउँपालिका वडा नं.– ५ गडुवालाईनका किसान देवी प्रसाद दहालले बताए।
बेमौसमी बर्षाले जमिनमा पानीको चिसो बसिरहेकाले गतबर्षको तुलनामा यस पाली तोरी राम्रो फलेको बताए। कृषिमा आधुनिकरण भएसँगै किसानहरुले उखेलेको तोरीलाई ४/५ दिनमै थ्रेसरबाट दाइ गरी भित्र्याउन शुरु गरेको किसान दहालले बताए।
ठोरी गाउँपालिकाको तथ्यांक अनुसार यसबर्ष करिब १ हजार ८ सय बिघा जमिनमा तोरी खेती गरिएको छ । तोरीबाली राम्रो भएकाले प्रति बिघा १५ मुरी अर्थात साढे नौ क्वीन्टल तोरी उत्पादन भएको ठोरी गाउँपालिका वडा नं.–४ विजयवस्तीका किसान अर्जुन श्रेष्ठले बताए। यस पटक ठोरीमा १७५ मैट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको किसान श्रेष्ठले बताए।
ठोरी गाउँपालिकाका अधिकांश नागरिक देशका अन्य शहर तथा बैदेशिक रोजिगारीका शिलशिलामा बिदेश रहेको हुँदा तोरी भित्र्याउन ज्यामी अभाव झेल्नु परेको किसानहरुले जनाएका छन्। सो ज्यामीह रुको आपूर्ति भारतीय गाँउबाट हुने गरेका किसानहरुले जनाएका छन्।
सीमावर्ती भारतीय गाउँ सिस्वा, रामपुर, धुमाटाड जसौली, थुकहा, जिगना लगायतका गाँउबाट दैनिक एक हजार जना ज्यामी कामका लागि आउने गरेका किसानहरुले जनाएका छन्।
गतबर्ष तोरीको भाउ तीन सय पचास रुपैया प्रति पाथी रहेका थिए बितेको दोस्रो बर्ष चार सय पचास रुपैया प्रति पाथी तोरीको भाऊ रहेको थियो। यसबर्ष तोरीको भाऊ पनि बढेको छैन । एक पाथीमा ३ केजी २ सय पचास ग्राम तोरी हुन्छ भने २० पाथी बराबर एक मुरी तोरी हुने गर्दछ।