![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/aaglaagi.jpg?fit=1200%2C686&ssl=1)
२६ माघ, काठमाडौँ । आज बिहान सिंहदरबारमा रहेको खानेपानी मन्त्रालयमा भएको आगलागीबाट खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेको छ । आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको हो ।
आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् । उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ ।
यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । खानेपानी मन्त्री यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशङ्का रहेको बताए ।
हिजो शुक्रवार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई भनेको समेत उहाँले जानकारी दिए । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन । अति आवश्यक कागजपत्रमा कुनै क्षति नभएको मन्त्री यादवको दाबी छ ।
खानेपानी मन्त्रालयमा पुग्नुभएका उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूलो क्षति हुनबाट जोगिएको बताए । आगलागीको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।