२७ माघ, रौतहट । मकै बालीमा गभारो किराको प्रकोपले रौतहटको उत्तरी क्षेत्रका किसान चिन्तामा छन् । व्यावसायिक रूपमा गरिएको मकै खेतीमा गभारो किरा लागेपछि बाली नै सखाप पार्ने हो कि भन्ने डरले किसान चिन्तित भएका हुन् । विशेष गरी जिल्लाको उत्तरी क्षेत्र चन्द्रपुर, गुजरा, फतुवा विजयपुर, वृन्दावन नगरपालिकाका किसानले व्यावसायिक रूपमा मकै खेती गर्दै आएका छन् ।
हाल चन्द्रपुर पालिकाको वडा नम्बर १, ८, ९ र १० मा गभारोको प्रकोप अधिक देखिएको छ । यसै गरी वृन्दावन नपाको विश्रामपुर र बलेरी क्षेत्र, गुजरा नपाको जङ्गलसहिया, मैरा, भवानीपुर र फतुवा विजयपुरको हिमालीबास, विजयपुर, रामदाशीलगायतको क्षेत्रमा गभारोको प्रकोप अधिक रहेको सम्बन्धित पालिकाका किसानको गुनासो छ ।
स्थानीय तहका कृषि शाखा तथा जनप्रतिनिधिले किसानलाई परेको मर्काबारे चासो नराखेको विजयपुरका कृषक गोविन्द चौधरीको आरोप छ । उहाँका अनुसार कृषि प्राविधिकले समय समयमा बालीनालीको सर्वेक्षण नगरेका कारण किसानको मकैबाली रोग र किराबाट प्रभावित बनेको हो ।
नगदेबालीका रूपमा मकैको खेती गरिन्छ । किसानले अधिक उत्पादन हुने विभिन्न जातका ‘हाइब्रिड’ मकै लगाउने गरेका छन् । आधुनिक तबरले खेती गरिने हुँदा मकै प्रतिकट्ठा दुई÷अढाई क्विन्टल उत्पादन हुने किसानहरू बताउँछन् । गभारोको आक्रमणले गर्दा मकै उत्पादनमा कमी आउने चिन्ताले किसान पिरोलिएका छन् । चन्द्रपुर नगरपालिकामा मात्रै करिब सात हजार हेक्टर जमिनमा हाइब्रिड मकै खेती हुने पालिकाको तथ्याङ्क छ ।
पालिकाका कृषिसेवा प्रमुख उमेश चौधरी भन्छन्, “उम्रिएर पाँच÷सात पात भएका कलिला मकैको गुभेपातमै गभारोले आक्रमण गर्ने हुनाले मकैको उत्पादनमा ह्रास आउने अधिक सम्भावना रहन्छ । माटोमै कीटनाशक औषधीको प्रयोग गरी खनजोत गरेको भए उक्त समस्या आउँदैन थियो ।
अहिले मकै बालीमा देखिएको उक्त समस्या समाधान गर्न किसानलाई कीटनाशक औषधी प्रयोग गर्न सल्लाह दिइएको छ । उनीहरूले सोहीबमोजिम औषधी ‘स्प्रे’ गरेका छन् । अब नियन्त्रण हुन्छ ।”