![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/mantri-yadav-scaled-1.jpg?fit=2560%2C1707&ssl=1)
२७ माघ,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन् । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो ।
मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।
उनले भने, ‘शनिबार आगलागी भएर मन्त्रीज्यूको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सुरू गरिएको छ ।’
मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुई वटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सिसी क्यामेराको मनिटरलगायत सामग्री नष्ट भएका छन् ।