Logo

२८ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) को मृत्युका विषयमा बनेको छानबिन समितिले औपचारिक रुपमा आफ्नो काम सुरु गरेको छ ।

समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर अनुसन्धान अघि बढाइएको छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिए ।

“मकुनाको मृत्यु सम्बन्धमा शुक्रबार छानबिन समिति बनेको थियो। बीचमा बिदा भएकाले आजदेखि काम सुरु गरेका छौँ,” उनले भने, “सोमवार स्थलगत अध्ययन गर्दैछौँ ।”

छानबिन समितिले चितवनमा दुई दिनसम्म बसेर घटनाको विषयमा स्थलगत अध्ययन गर्ने छ । “चितवन राष्ट्रिय निकुञ्ज, निकुञ्जका सेक्टर कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वनका पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल तथा अन्तरक्रिया गरिने छ,” सहसचिव डा पौडेलले भने ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर यही माघ २३ गते मकुनाको मृत्यु भएको थियो ।


सम्बन्धित समाचार