
२८ माघ,वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड मधेस झरेका छन् । उनी आज त्रिभुवन विमास्थलबाट जनकपुर हुदै महोत्तरीको बर्दिवासमा हुने कार्यक्रममा सहभागी हुन मधेस झरेका हुन् ।
प्रचण्डले आज महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर–३ स्थित आधारशीला कम्युनको २२ औं वार्षिकोत्सवको उदघाटन र जनकपुरमा मधेश प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड जनकपुर विमानस्थलमा अवतरण गरिसकेका छन् ।
जनकपुर विमानस्थलमा भएको संक्षिप्त पत्रकार सम्मेलनमा उनले अहिलेको सरकार भ्रष्टाचार विरुद्धको अभियान रोक्नलाई बनेको बताएका छन् । उनले भने, ‘यो सरकार जनता, राष्ट्र र सुशासनको पक्षमा बनेको होईन । संविधान मिचेर बनेको सरकार हो । संविधानको धारा ७६ को २ सकिएपछि ३ मा टेकेर बन्नुपर्ने हो । तर, त्यसलाई पनि मिचेको छ ।
संसारमा अपवादमा मात्रै लोकतन्त्रको मर्म विपरित बनेको सरकारबाट धेरै आश गर्नुपर्ने ठाउँ छैन ।’ संसदमा पेश गरेको अध्यादेशको सन्दर्भमा पनि उनले पास नहुने स्थिति रहेको बताए । जनता समाजवादी पार्टी नेपालले लिएको अडान यथावत रहे राष्ट्रियसभाबाट अध्यादेश पास नहुने उनको भनाई थियो ।
उनले भने, ‘उहाँहरु (जसपा नेपाल) विधि प्रकृयासँग सम्बन्धित विषयमा अहिलेसम्म अडिनुभएको छ । जहाँसम्म लाग्छ अडिनुहुन्छ । सरकारकै निम्ति जानुहुन्छ भन्ने लाग्दैन । यदि उहाँहरुको अडान रहिरह्यो भने राष्ट्रियसभाबाट अध्यादेश पास हुदैन ।’