![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2025/02/gahubali.jpg?fit=1200%2C668&ssl=1)
२८ माघ,वीरगञ्ज । यसबर्ष हिउँदमा बर्षा नभएपछि किसानले लगाएको बालीनाली नसप्रिने सम्भावना बढेको छ । हिउँदमा पर्नुपर्ने पानी अझैसम्म नपर्दा किसानले लगाएको तोरी, गहुँ लगायतका बालीहरुमा फल कम लाग्ने र उत्पादन घट्ने चिन्ताले किसानहरुलाई सताएको छ ।
सिँचाईको सुविधा नभएका किसानको खेतहरुमा पानीको अभाव भई बाली नसप्रिने किसानहरुले बताएका छन् । किसानले लगाएको हिउँदेबाली गहुँमा पनि गएको मंसिरमा पाकेको धानबालीमै लाग्ने फौजी किराले पनि दुख दिन थालेको किसानहरुले बताएका छन् । पानी र मलको सन्तुलन नम्लिदा पनि बाली राम्रो नहुने कृषि विज्ञहरुको भनाई छ ।
यसपटक हिउँदमा पानी नपर्दा उत्पादनमा पनि ह्रास आउने सम्भावना रहेको कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख रामजीवन ठाकुरले बताए । उनका अनुसार गहुँ र दलहनबालीका लागि आवश्यक पानी नपर्दा सिँचाईको सुविधा नभएका क्षेत्रमा किसानलाई बेफाईदा भएको छ ।
सिँचाईको सुविधा नभएका खेतहरुमा छरिएको गहुँबालीमा सिँचाई गर्न पाईएन भने सुक्खा हावाले गहुँको दाना लाग्न समस्या हुने, लागेपनि सानो दाना लाग्ने हुँदा किसानलाई नोक्सानी रहेको प्रमुख ठाकुरको भनाई छ । उनका अनुसार सामान्यतया गहुँबालीमा दुईपटक सिँचाई गर्नुपर्छ । दलहन बालीमा कम्तीमा एकपटक सिँचाई गर्नुपर्ने हुन्छ ।