Logo

२९ माघ,सेढवा । पर्साको ग्रामीण भेगमा किसानहरू मकैखेती गर्नेतर्फ आकर्षित भएका छन् । यस क्षेत्रका ठोरी, जीराभवानी, सखुवाप्रसौनी, पटेर्वासुगौली गाउँपालिका, पर्सागढी नगरपालिका र वीरगंज महानगरपालिकाका केही वडाहरूमा विगतका तुलनामा मकैखेती गर्ने किसान तथा क्षेत्रफल बढेका छन् ।

पटेर्वासुगौली गाउँपालिकाको कृषि शाखाका प्राविधिक गोविन्दभैया थारूका अनुसार यस वर्ष पालिकाद्वारा ५० प्रतिशत अनुदानमा छ क्वीन्टल हाइब्रिड ३३५५ जातको मैकको बीउ वितरण गरिएको बताए । गत वर्ष चार क्वीन्टल बीउ वितरण गरिएको प्राविधिक थारूले बताए । पालिकाभरिमा लगभग ५० बिघा क्षेत्रफलमा मकैखेती गरिएको प्राविधिक थारूले बताए । यसबाहेक किसानहरू आफैंले भारतीय तथा नेपाली बजारबाट बीउ खरीद गरी मकैखेती गरेका थारूले बताए ।

जीराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरका रविमोहन सापकोटाले तोरीबालीपछि खेत खाली भएका किसानहरूले थप एक बाली मकैखेती गर्ने गरेको बताए । मकैखेती गर्न सजिलो भएको र उत्पादन पनि राम्रो भएकोले किसानहरू मकैखेतीतर्फ आकर्षित भएका सापकोटाले बताए । मकैखेतीबाट किसानले प्रतिकट्ठा तीनदेखि चार क्वीन्टल मकै उत्पादन गर्ने सक्ने र अहिले मकैको बजार मूल्य चार हजार रुपियाँ प्रतिक्वीन्टल रहेको सापकोटाले बताए ।

ग्रामीण भेगमा खुलेका गाई र भैंसी फर्ममा मकै दानाको रूपमा प्रयोग हुन थालेको छ । मकैबाली बोटसहित खरीद हुने हुँदा झनै सहज भएको किसानहरूले बताए । फर्महरूले खेतबाटै मकैबाली काटेर ट्याक्टरमा लोड गरी लैजाने गरेका र सो बाली चारदेखि साढे चार रुपियाँ प्रतिकिलोको दरमा बिक्री हुने गरेको किसानहरूले बताए ।


सम्बन्धित समाचार