Logo

१ फागुन,वीरगञ्ज । पर्साको वीरगञ्जमा घण्टाघर,बसपार्क, बिर्ताचोक लगायत मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा प्रमुख चुनौती थपिएको छ ।

वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटना बढेको छ भने अर्कोतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए । “अत्यधिक सवारी चाप हुने घण्टाघरलगायतका स्थानमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । टाँगा चालकलाई बसपार्क देखि रजत जयन्ती चोक हुँदै मितेरी पुलसम्म चलाउन मात्र अनुमति दिइएको भएपनि मुख्य सडकमा नै टाँगा चलाउँदा सवारी व्यवस्थापनमा विभिन्न खालको अप्ठेरा भएको भट्टले बताए ।

टाँगालाई सीमावर्ती सहर रक्सौलको रेल्वे ढालाचोकसम्म प्रवेश दिइएको कारण पनि सामानसहितका यात्रुहरूको मुख्य रोजाइमा टाँगा पर्ने गर्दछ । अन्य अटोरिक्सालाई शङ्कराचार्य गेट नजिकै रोकिने भए पनि टाँगाहरू भने भारतीय भूमिसम्मै पुग्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा टाँगा पर्ने गरेको हो ।

 


सम्बन्धित समाचार