
२ फागुन,वीरगञ्ज । पर्सा प्रहरीले मानव बेचविखनमा सलंग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. १५ मा सञ्चालनमा रहेका होटलहरूमा चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष ४५ को गिनीलाल गुप्ता र भारत विहार जिल्ला पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर वडा नं.६ बस्ने वर्ष ४० को जय प्रकाश साहलाई पक्राउ गरेको हो ।
राम्रो आम्दानी हुने काममा लगाईदिने प्रलोभनमा पारेर होटलमा आएका ग्राहकहरूसँग अनैतिक कृयाकलामा संलग्न गराइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले वीरगन्जको होटल स्मार्टबाट २ जना र न्यू शान्ति सैनिक होटलबाट २ जना गरी चार जना महिलाहरूको उद्धार गरेको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास भट्टले बताए ।