०३ फागुन, सेढवा (पर्सा) । पर्साको थरुहट क्षेत्रमा भोजभतेरमा सामाजिकरूपले सहयोग गर्ने परम्पराको चलनमा बृद्धि भएको छ । विवाह तथा मरणहरणको समयमा सम्बन्धित व्यक्तिलाई आर्थिक समस्या नहोस् भनी समुदायका अन्य अडोसपडोसका व्यक्ति तथा अफन्तहरुले भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउने परम्परा नै बस्दै भएको छ । वैवाहिक कार्यक्रमका भोजका लागि आवश्यक खाद्यान्न, माछा, मासु, तरकारी तथा अन्य सामग्रीहरू दिने चलन छ।
जीराभवानी गाउँपालिका–२ का शङ्कर चौधरीले भोजभतेरका लागि आफैले सबै कुराको व्यवस्थापन गर्दा कठिनाइ हुने र आर्थिक समस्याको सामना समेत गर्नु पर्छ। तर समुदायकै साथिभाई तथा इष्टमित्रहरुले सहयोग गर्ने गरेको बताए ।
साथीभाइलाई वैवाहिक कार्यक्रमको भोजभतेर तथा अन्य कार्यक्रममा सहयोग गर्दा पछि उनीहरूले पनि आफ्नो घरको वैवाहिक कार्यक्रममा सहयोग फर्काउने चलन रहेका चौधरीले बताए ।
त्यस्तै, जन्तीका लागि रथ, गाडी, फर्निचर, टेन्ट, गहना तथा दाइजोका लागि भाँडाकुँडा सहयोग लेनदेन हुने गरेको उनले बताए । छोरीलाई प्रदान गरिने टेलिभिजन, वासिङ मेशिन, रेफ्रिजेरेटरलगायत विद्युतीय सामग्रीसमेत आपसी सहयोगमा लिनेदिने गरिएको चौधरीले बताए ।
थारू कल्याणकारी समितिका केन्द्रीय सदस्य महेन्द्र चौधरीले समुदायमा आपसी सहयोगको भावना विकसित हुँदा सबैलाई लाभ भएको बताए । सहयोग लिंदा वा दिंदा आर्थिक भार कम हुने तथा गरीब परिवारका छोराछोरीको विवाहमा सहयोग मिल्ने र पछि बिस्तारै सहयोग फिर्ता गर्ने हुँदा आपसी सद्भावको पनि विकास भएको चौधरीको भनाइ छ ।
यसका साथै थारु समुदायको बैवाहिक कार्यक्रम अन्तर्गत बेहुला पक्षले अंगनाको लेग (गितहेरिन, गजुवइन, ब्राह्मण तथा हजामलाई दिने रकम) को कुरालाई लिएर हुने बिबाद हटाउन एक मुस्ट सात हजार रुपैया दिने निर्णय गरिएको र कार्यन्वन ल्याइने सदस्य चौधरीले बताए ।
साथै मरणहरणको तेर्हौ दिनको भोज शुद्ध शाकाहारी हुने सदस्य चौधरीले बताए । यसभन्दा अगाडी भोजभतेरमा दाउरा, पात तथा पाहुनाहरुको स्वागतमा समुदायका अन्य व्यक्ति लाग्दै आएका छन् ।

















