Logo

३ फागुन,सेढवा । पर्साको ग्रामीण क्षेत्रमा सवारीसाधन उपलब्ध हुन थालेपछि किसानहरूले गोरु पाल्न छोडेका छन् । ग्रामीण भेगमा बाटोघाटोको बिकास भएसंगै जीप, कार, इ रिक्सा, टेम्पो तथा मोटरसाइकल लगायतका सवारीसाधन प्रयोग बढेका छन्।

जसका कारण परम्परागत रुपमा चल्दै आएका बैलगाडाको प्रयोग बन्द नै भइसकेका छन। बिगतमा ग्रामीण भेगमा मुख्य सवारीसाधन बयलगाडा अहिले हराएका छन्। एक ठाउँबाट अर्को ठाउँमा सामान ओर्सान तथा मानिस आउजाउमा प्रयोग हुने बयलगाडा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ।

खेत जोताइका लागि ट्याक्टरबाट हलो, रोटाभेटर तथा अन्य बिभिन्न आधुनिक मेशिन चलाउने र सवारी साधनको प्रयोग बढेकाले किसानहरुले गोरु नै पाल्न छाडेका छन् । पटेवांसुगौली गाउँपालिका(५ का शम्भु महतो थारूले कृषि कार्यका लागि विभिन्न आधुनिक मेशिनबाट खेतको खनजोत गर्न सहज, छिटो र सस्तो भएको कारण किसानहरूले गोरुलाई विस्थापित गरेको बताए ।

उनले गोरु पाल्दा वर्षभरि एकजना कामदार लगाइरहनुपर्ने तथा कामदारको ज्याला निकै महँगो भएकाले किसानहरूले गोरु पाल्न छाडेको बताए। गोरु लगाएर बयलगाडाबाट सवारी गर्दा रमाइलो भएपनि यात्रा ढिलो हुने भएकोले बयलगाडा विस्थापित भएको उनले बताए ।

जगरनाथपुर गाउँपालिका(३ का गुलाब राउत अहिरले गाउँमा गोरु कसैले नपालेकाले गाडाको प्रयोजन समाप्त भएको बताए । गोरु पाल्न र बयलगाडा चलाउन किसानका लागि आर्थिक हिसाबले झन्झटिलो भएकोले आधुनिक सवारीसाधनतिर किसानहरू लागेको उनले बताए ।

जीराभवानी गापा(२ सेढवा निवासी शिवनाथ साह तेलीले तीन वर्षअघिसम्म बयलगाडा सञ्चालन गर्दै आएका थिए । तर गत वर्ष उनले गोरु बिक्री गरेकाले अहिले घरमा गाडा मात्रै रहेको बताए । उनले आफ्नो गाईले दुईवटा बाछा जन्माएकाले आगामी दिनमा बयलगाडा सञ्चालन गर्ने बताए ।

उनले तीनवटा गाई पाल्दा थप दुईवटा गोरु पाल्न समस्या नभएको बताए। गोरु भएकोले सानो जग्गामा जोताइ गर्न सहज भएको र कहिलेकाहीं बयलगाडाबाट पनि आम्दानी हुने गरेको बताए । अहिले उनको गाउँमा आक्कलझुक्कल एक दुई वटा बयलगाडा देख्ने गरिएको छ ।


सम्बन्धित समाचार