Logo

४ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा सदस्य प्रभु हजराले वीरगञ्जको गण्डक नहरमा रहेका जीर्ण पुलहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद हजराले गण्डक नहर तथा तिलावे नदीमा रहेका पुल जीर्ण भइसकेको हुँदा तत्काल पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सिंचाई मन्त्रालयलाई तत्काल पहल गर्न आग्रह गर्दै पुल निर्माण र मर्मत सम्भार नगरे आउँदो वर्षायाममा आवागमन पूर्णरूपमा अवरुद्ध हुने चेतावनी दिनुभयो । सांसद हजराले गण्डक नहरमा रहेको तिलावे पुल र सिर्सिया पुल दुवै अत्यन्त जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै यस क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा ठूलो समस्या भइरहेको बताउनुभयो ।

उनले बर्खायाम नजिकिएकाले तत्काल बेलिब्रिज निर्माण गरी समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । स्थानीयबासीले समेत पुल जीर्ण अवस्थामै हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै चासो व्यक्त गर्दै आएका छन् । सांसद हजराले यथाशीघ्र आवश्यक कदम नचालिए जनताको दैनिकी कष्टकर बन्ने भन्दै सरकारलाई ठोस निर्णय लिन आग्रह गरे ।


सम्बन्धित समाचार