
४ फागुन,वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्मला देवकोटा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन वीरगञ्ज मुख्य सडक विस्तारसम्बन्धी मुद्दालाई किनारा लगाउन माग गरेकी छन् । उनले आज प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै अदालतलाई चाँडो निर्णय दिन आग्रह गरिन् ।
सांसद देवकोटाले अदालतले समयमै किनारा नलगाउँदा वीरगञ्जको विकास अवरुद्ध भएको बताइन् । मुख्य सडक विस्तारबारे अदालतले चाँडो निर्णय गर्नुपर्ने बताउदै उहाँले मुद्दा लम्बिँदै जाँदा विकास कार्य रोकिएको र घरधनीहरू अन्योलमा पर्नुका साथै सहरको स्वरूप नै प्रभावित भएको छ उनले भनिन् ।
लामो समयदेखि विचाराधीन रहेको यो मुद्दाको पेशी यही फागुन २८ गते तोकिएको छ । तर, होली पर्वको अघिल्लो दिन परेकाले यस पटक पनि मुद्दाले प्राथमिकता नपाउने र अन्योलमै रहने आशङ्का गरिएको छ । सांसद देवकोटाले ढिलो न्याय अन्यायसरह हुने भन्दै अदालतलाई यस पटक मुद्दा टुङ्ग्याउन आग्रह गरिन् ।