
४ फागुन,सेढवा । पर्साको ग्रामीण किसानहरुले एकातिर सूर्ती बालीको पात टिप्न र दोस्रो सुर्ती बालीको रोप्ने तैयारीमा किसानहरु व्यस्त छन् । बार्षिक दुईबाली लगाइने सुर्तीबाली अन्तर्गत कार्तिक महिनामा लगाएका सुर्तीका पात टिप्न लागेका छन्। किसानहरु दिउँसो सुर्तीको पात टिप्ने र राती पातको माला बनाउने गरिएको सुर्तीबाली लगाएका किसानहरुले जनाएका छन्।
बिशेष गरी जिल्लाका उत्तरी तथा पश्चिमी क्षेत्रमा रहेका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउपालिका, पर्सागढी नगरपालिका र बीरगंज महानगरपालिकाको केही वडाका किसानहरुले सुर्ती बाली लगाउने गरेका छन् । जिराभवानी गाँउपालिका वडा नं.–१ शान्तिनगरका किसान तिलकबहादुर श्रेष्ठले सुर्तीको बोटको तलतिरको पात पाकिसकेका कारणले बिहान पातका मालालाई घाममा सुकाउन व्यवस्थापनमा लाग्ने गरेको बताए। दिउँसो बारीमा गएर पात टिप्ने तथा राती परिवारका अन्य सदस्यहरु मिलेर जुटको डोरीमा माला बनाउन किसानहरु जुटेको श्रेष्ठले बताए।
अहिले खासै चर्को घाम नलागेका कारण सुर्तीका मालालाई सुर्तीकै हांगामा सुकाउन सकिने श्रेष्ठको भनाई छ । यता ठोरी गाउँपालिका वडा नं.– ५ सुवर्णपुरका किसान खड्ग बहादुर न्यौपानेका अनुसार बिगत लामो समयदेखि सुर्तीबाली गर्दै आएको बताए। एउटै जग्गामा यो बाली बार्षिक दुई पटक र एक बाली धान उत्पादन गर्न सकिने किसान न्यौपानेले बताए। सुर्तीबाली एक पटकमा प्रति कट्ठा ५० केजीदेखि एक क्वीन्टल उत्पादन गर्न सकिने न्यौपानेको भनाई छ। जसलाई बिक्री गरी प्रति कट्ठा दश १० हजार देखि २० हजार रुपैया किसानहरुले आम्दानी गरिरहेका छन् ।
त्यस्तै किसान नर बहादुर श्रेष्ठका अनुसार ठोरी गाउँपालिकाका अधिकांश नागरिक देशाका अन्य शहर तथा बैदेशिक रोजिगारीका शिलशिलामा बिदेश रहेका हुँदा सुर्ती भित्र्याउने सम्बन्धि कार्यका लागि ज्यामी अभाव झेल्नु परेको बताए। बाली लगाउने ज्यामीहरु भारतीय गाँउबाट आउने गरेका श्रेष्ठले बताए। सीमावर्ती भारतीय गाँउ सिस्वा, रामपुर, धुमाटाड जसौली, थुकहा, जिगना लगायतका गाँउबाट दैनिक सयौं जना ज्यामी कामका लागि आउने गरेका श्रेष्ठले जनाएका छन्।
किसानहरुले अहिले भित्र्याइरहेका सुर्ती चैत्र महिनामा सूर्या नेपाल प्रा. लि. मा चलान हुने र चलान भएको एक सातादेखि २ साता भित्र किसानहरुले भुक्तानी पाउने गर्छन्। सूर्ती बिक्री गरेर हुने आम्दानी घरपरिवार चलाउन, विभिन्न सामाजिक, सांस्कृतिक कार्यका लागि र चैते धानबालीको रोपाईमा लाग्ने खर्च समेत जुट्ने गरेको किसानहरुले जनाएका छन्।
एकातिर सुर्ती भित्र्याउने अर्को तर्फ किसानहरुले माघी सुर्तीको रोप्न आवश्यक सामग्रीको तैयारीमा जुटेका छन्। किसानहरुले बिरुवाको व्यवस्थापन, रासायनिक मलको व्यवस्था, खेतको जोताई लगायतको कार्यमा जुटेका छन्।
जिराभवानी गाँउपालिका वडा नं.– ४ सुपौलीका किसान रामराज दास थारुका अनुसार सुर्तीको बिरुवा उत्पादन कार्य भइरहेको बताए। बिरुवालाई दर्जनौ ब्याडमा सार्ने कार्य भइरहेको र केही दिन मै अन्य किसानहरुलाई बिरुवा बितरण गरिने किसान थारुले बताए। सूर्या नेपाल प्रा. लि. सिमरा बाराका लिफ मैनेजर रोशन अधिकारीका अनुसार कम्पनीका लागि पर्सा जिल्लामा कार्तिकी सुर्ती एक हजार हेक्टर जमिनमा लगाईएको र माघी सुर्ती करिब तीन सय हेक्टर जमिनमा रोपाई हुने म्यानेजर अधिकारीले बताए।
नेपालका नवलपरासीदेखि सर्लाहीसम्म नौ वटा जिल्लामा सुर्ती खेती गरिए पनि सबभन्दा बढी सुर्तीको पात कम्पन्नीका लागि पर्सा जिल्लाबाट आपूर्ती हुने गरेको म्यानेजर अधिकारीले बताए।