
५ फागुन,ठोरी । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरको १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित फार्म गाइको मृत्यु केन्द्र बन्दै गएको छ । कुनै समय देशभर नै चर्चामा रहेको गाई फार्ममा गाईको स्याहारसुसार र आहारा नहुँदा दिनप्रतिदिन गाइ मर्दै गईरहेको स्थानीयले बताएका छन् ।
फार्ममा गाइलाई पिउने पानीको समेत अभाव भएको छ । पानी र घाँस पराल नपाएर गाई दिनप्रतिदिन मर्दै गैरहेको स्थानीय बासी बताउँछन् । हाल उक्त फार्ममा रहेका दुईसय ओटा गाई उचित आहार नपाउँदा दुब्लाएर हाड र छालामात्र बाँकी भई मर्ने अवस्थामा पुगेको स्थानीयको भनाई छ ।
खाना नपाएर गाइ भोकै मर्न थालेको गुनासो आएपछि आज ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ सहितको जनप्रतिनिधि र प्रहरीको टोलीले उक्त गाई फार्मको निरीक्षण गरेका छन् । अझै एकसाता यस्तै अवस्था रहे गाई फार्ममा कुनै पनि गाई बाँच्ने अवस्था नरहेको पालिका अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले फार्मको अवस्था बारे सन्चालकलाई जानकारी गराउँदा गैरजिम्मेवार जवाफ आएको बताउँदै अब आफुले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।
उनले भने, ‘यस्तो विजोग हेरेर बस्न सकिदैंन, पराल छैन, दाना छैन, पानी समेत छैन, तोरीको कुसौरा छरेर राखेको छ ।’ अब तत्काल फार्मको गाइ किसानलाई पाल्न दिने र पछि सन्चालक खोज्न आएमा पालेको पैसा लिएर फिर्ता गर्ने शर्तमा गाइै बचाउने सोचमा पुगेको उहाँको भनाई छ ।
अध्यक्ष श्रेष्ठले, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित तामाङ, ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायतलाई लिएर फार्मको निरीक्षण गरेका थिए । प्रतिदिन ३० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेर सञ्चालन भएको सो गाई फार्मले १२ लाख भन्दा धेरै विद्युत वक्यौता तिर्न बाँकी भएपछि लाइन काटिएको छ ।
विद्युत आपूर्ति बन्द हुँदा पानी समेत छैन । ठूलो योजना र मेसीनबाट सन्चालित प्रणालीमा लाईन नभएपछि फार्ममा दुर्गन्ध फैलिएको छ । त्यहाँ काम गर्ने कामदारले पैसा नै पाएका छैनन्। गोबरग्यासबाट बिजुली समेत उत्पादन गर्ने लक्ष्य राखेको फार्म आफैं विजुली नभएर दयनीय अवस्थामा पुगेको छ ।