
५ फागुन,वीरगञ्ज । वीरगन्जमा आजदेखि नवौं प्याब्सन अन्तर विद्यालय क्रिकेटको उदघाटन खेलमा आज सेण्ट जेभियर्स मावि विजयी भएको छ । नारायणी रंगशाला स्थित टीबी शाख क्रिकेट मैदानमा सेण्ट जेभियर्स र श्री आदर्श स्कुलबीच भएको खेलमा सेण्ट जेभियर्स नौ विकेटले विजयी भएको हो ।
१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सेण्ट जेभियर्सले सात विकेट गुमाउदै १०२ रन बनाएको थियो । १०३ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको श्री आदर्श मावि ६ विकेटको क्षतिमा ९३ रनमै समेटियो । उदघाटन खेलको म्यान अफ द म्याच सेण्ट जेभियर्सका दीपेश साह घोषित भएको प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले बताए ।
यस्तै नकआउट जुनियर फुटबल प्रतियोगिताको उदघाटन खेल साउथजोन मावि र नवदीप एकेडेमीबीच भईरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा पछाडिको प्रदेश विपद व्यावस्थापन गुल्मको खेल मैदानमा फुटबल खेल जारी रहेको प्याब्सन पर्साका सचिव संग्रौलाले बताए ।
निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) पर्सा जिल्ला कार्यसमितिको आयोजना गरेको प्रतियोगिताको नवौं संस्करणको वीरगन्जको नारायणी रंगशाला स्थित टीबी शाह क्रिकेट मैदानमा उदघाटन गरिएको थियो ।
प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा शुरु भएको प्रतियोगिताको प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उदघाटन गर्नुभएको थियो । क्रिकेट र फुटबल दुवै प्रतियोगिताको टीबी साह क्रिकेट मैदानमै उदघाटन गरिएको हो ।
क्रिकेट प्रतियोगितामा २७ वटा विद्यालय र फुटबलमा २० वटा पर्साका निजी विद्यालयहरुले सहभागिता जनाएका छन् । उदघाटन समारोहमा प्याब्सनका केन्द्रीय तथा प्रदेशका पदाधिकारी, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामाले बताए ।
यस्तै प्याब्सन महानगरको आयोजनामा ज्ञान एकेडेमीमा जारी प्याब्सन महानगर अन्तर विद्यालय १२ बर्षमुनीको प्रथम क्रिकेट प्रतियोगितामा आज भएको खेलमा चिल्ड्रेन वल्र्ड र गौतम मावि विजयी भएका छन् ।
ज्ञान एकेडेमीको फिल्डमा चिल्ड्रेन वल्र्ड र वीरगन्ज एकेडेमीबीच भएको खेलमा चिल्ड्रेन वल्र्ड ६७ रनले विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको चिल्ड्रेन वल्र्डले निर्धारित १० ओभरको खेलमा ५ विकेटको क्षतिमा १०५ रनको योगफल तयार पारेको थियो
। १०६ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको वीरगन्ज एकेडेमीले पूरा ओभरमा ७ विकेट गुमाउदै ३६ रनमा समेटियो । प्रतियोगिताको ओमन अफ द म्याच आलिया खातुन र मुक्ता जीसी घोषित भए । त्यसैगरी गौतम मावि र विद्यासागर एकेडेमीबीच भएको खेलमा गौतम मावि ६२ रनले विजयी भएको छ ।
टस जितेर पहिले व्याटिङ गरेको गौतमले विद्यासागरलाई ८ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११६ रनको लक्ष्य दिएको थियो । जवाफी व्याटिङ गरेको विद्या सागरमाविले ८ ओभरमा ६ विकेटको क्षतिमा ५३ रन मात्रै बनाउनु सक्यो । यो खेलको ओमन अफ द म्याच गौतम माविकी श्रेष्का बस्नेत भईन् ।