
६ फागुन,सेढवा । पर्साको बिभिन्न स्थानमा संचालित दूना टपरी उद्योगहरुमध्ये तीन वटा उद्योग बन्द भएका छन् । पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय पर्सा अन्तर्गत रहेका जंगलको सालको पातबाट दुना र टपरी उत्पादन गर्ने बिभिन्न परियोजना अन्तर्गत उद्योग स्थापना भएका थिए । तर, अहिले बजारमा कागज तथा प्लाष्टिकका दुना टपरी उपलब्ध भएका कारणले ती उद्योगहरु बन्द भएका छन् । भने कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेका उद्योगका संचालकहरुले दुखेसो गरेका छन् ।
पर्सागढी नगरपालिका वडा नं.– २ कटानी निवासी नारायण कार्कीले १५ बर्षदेखि दुना टपरी उद्योग संचालन गर्दै आएपनि केही बर्षदेखि बन्द गर्ने अवस्था आएको गुनासो गरेका छन् । करिब ७ बर्ष अघि सो उद्योगबाट मासिक ५ लाख रुपैया आम्दानी गर्दै आएको कार्कीले कोरोनाको लकडाउन पछि दुनाटपरीको माग ह्वातै घटेको बताए ।
कार्की परिवारले काठमाडौंका बिभिन्न होलसेलमा बितरण तथा गाँउठाउमा हुने भोज भतेरमा दुना टपरी बितरण गर्दै आएपनि अहिले माग नभएको कार्कीले बताए । सो टोलका करिब दुई दर्जन महिलाहरुलाई समेत रोजगारी प्रदान गर्दै चारवटा मेशिन संचालन गर्दै आएका उद्योगमा अहिले एक वटा मेशिन पनि राम्रोसँग चलाउन समस्या भएको कार्कीले बताए ।
दुना टपरीको उद्योग चलाउन समस्या भएका कारण अहिले पेशा नै परिवर्तन गर्नु परेको कार्कीले गुनासो छ । त्यस्तै ठोरी गाउँपालिका वडा नं ५ अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने सुनाखरी वन समितिको आर्थिक सहयोगमा स्थानीय बलराम कोर्मोचाले संचालन गर्दै आएका टपरी उद्योग दुई बर्षदेखि बन्द गरेको बताए ।
५/७ बर्षदेखि उद्योग राम्रैसँग संचालन भएपनि बन्द गरेको कोर्मोचाले बताए । टपरीका लागि आवश्यक सालका पात जंगलबाट ल्याउनु पर्ने र जंगलमा जंगली जनावरको संख्या बढेका कारण जोखिम बढेकाले कच्चा पदार्थ ल्याउन समस्या रहेको कोर्मोचाले बताए। पात ल्याउदा जंगलमा रहेका सालका स साना लाथ्राहरुमा क्षति पुग्नुको साथै बिरुवाको बृद्धि तथा बिकासमा पनि नाकारात्मक असर परेका कारण उद्योग नै बन्द गरेको कोर्मोचाले बताए ।
त्यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नं ४ पटेर्वामा संचालित दुना टपरी पनि एक बर्षदेखि बन्द भएका छन् । स्थानीय अशोक ओझैयाले गत बैशाखदेखि दुना टपरी उत्पादन गर्ने कार्य बन्द गरेको बताए। अहिले बजारमा पाउने सस्थो डिस्पोजल कागज तथा प्लास्टिकका थाल र ग्लासका कारण पातका दुना टपरीको प्रयोग न्यून भएको देखिन्छ।
पातका टपरी बनाउन लाग्ने खर्चका आधारमा एउटा दुनाको मूल्य चार रुपैया पर्ने गरेको ओझैयाले बताए। भोज भतेरका लागि टपरी खरिद गर्न आउने ग्राहकहरुले महंगो भएको भन्दै खरिद नगर्ने हुदा उद्योग बन्द गर्नु परेको ओझैयाको भनाई रहेका छन् ।
बजारमा पाइने कागज तथा प्लास्टिकका टपरी तथा ग्लासलाई बनाउन बिभिन्न किसिम्मको केमिकल प्रयोग भएका हुदा सोको प्रयोग गरी खाना सेवन गर्दा मानवीय स्वास्थ्यमा नाकारात्मक प्रभाव पर्ने गरेको चिकित्सकहरुको भनाई रहेको छ ।
बिभिन्न किसिम्मका यी टपरीमा खाना राख्दा गन्हाउने तथा टपरीको रंग खानामा मिसिने गरेका खाना अस्वस्थकर बन्ने गरेको चिकित्सकहरुको भनाई रहेको छ । तर पातका टपरी हिन्दु परम्परागत रुपमा शुद्ध रहेको समाजका अग्रजहरुको दावी छ । अहिले समुदायमा हुने आधिकांश भोज भतेरमा बजारमा पाइने कागज तथा प्लाष्टिककै टपरीको प्रयोग बढी हुने गरेको छ ।