
६ फागुन,काठमाडौं। सरकारले ओडिसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ।
कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको छ।
‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ मन्त्रालयले भनेको छ।
नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडिसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो।
‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिकोभएको व्यवहार निन्दनीय छ,’ मन्त्रालयले भनेको छ।