
६ फागुन,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले त्यहाँको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र अन्य सात सय नेपालीमाथि भएको ज्यादतीबारे छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।
आइतबार अपरान्ह नेपाली विद्यार्थी प्रकृतिको रहस्यमय र शंकास्पद मृत्युपछि छानबिन माग गर्दै दबाब दिन उत्रिएका सात सय बढी नेपालीलाई कलेजको होस्टेलबाट ज्यादती र कुटपिटसहित निष्कासन प्रकरणमा राज्य सरकारले छानबिन समिति बनाएको हो ।
उक्त विश्वविद्यालयलाई उच्च निगरानीमा राखिएको जनाउँदै ओडिसा राज्य सरकारले उच्चस्तरीय तथ्य खोज समिति बनाउने निर्णय गरेको हो ।
उक्त समितिको निष्कर्षको आधारमा विश्वविद्यालय र नेपालीमाथि ज्यादतीमा संलग्नमाथि उचित कानुनी र प्रशासनिक कारबाही गरिने पनि राज्य सरकारले वक्तव्यमार्फत् उल्लेख गरेको छ।
उक्त उच्चस्तरीय समितिमा मुख्य सचिव, गृह विभाग, प्रमुख सचिव, महिला एवम् बाल विकास विभाग र आयुक्त सह–सचिव, उच्च शिक्षा विभाग सदस्यका रूपमा रहेका छन् ।
‘केआईआईटी विश्वविद्यालयमा हालै भएको दुर्भाग्यपूर्ण घटनाको पृष्ठभूमिमा ओडिशा सरकारले मामिलाबारे जानकारी लिएको छ । सुरक्षा गार्डलाई गिरफ्तार गर्नुका साथै यस प्रकरणमा सामेल दोषी अधिकारीलाई निलम्बितसहितका कदम चालिएको छ’, राज्य सरकारले भनेको छ ।
राज्य सरकारले बाहिरका व्यक्ति ल्याएर नेपाली विद्यार्थीमाथि कुटपिट प्रकरणबारेमा पनि जाँच भइरहेको जनाएको छ । यस प्रकरणमा विश्वविद्यालयका जिम्मेवार पदाधिकारीलाई कानुन अनुसार जवाफदेही बनाउन लगाइने पनि उल्लेख गरेको छ।
ओडिसा सरकारले हरेक विद्यार्थीको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्ने कुरामा तलमाथि हुन नदिने पनि प्रतिबद्धता जनाएको छ । ‘ओडिसा सरकार यस प्रकरणमा न्याय चाँडो र निष्पक्ष रूपमा दिलाउन, कानुन र सामाजिक सुरक्षा निश्चित गर्नका लागि सबै आवश्यक कदम उठाउन तयार छ’, वक्तव्यमा भनिएको छ ।