
७ फागुन,वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्जको प्रतिमा चोक स्थित नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रालिलाई बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले आज वीरगन्जको निजी अस्पतालहरूको आज अनुगमन गर्ने क्रममा नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरले सञ्चालन स्वीकृति नलिएको पाईएकोले अस्पताल बन्द गर्न निर्देशन दिएको हो ।
उक्त अस्पतालमा उपचार गराईरहेका बिरामीको अन्यत्र स्थानान्तरण गरी पूर्णरुपमा बन्द गर्न निर्देशन दिनुका साथै अन्य नयाँ कुनैपनि बिरामी भर्ना नलिन पनि मुख्यमन्त्री सिंहले भनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वस्थ्य अधिकृत संतोष ठाकुररले बताए ।
मुख्यमन्त्री सिंहको नेतृत्वमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत संतोष कुमार ठाकुर सहितको टोलीले वीरगञ्जको भवानी हस्पिटलबाट शुरु गरेको अनुगमन प्रभु अस्पताल, आशाराम अस्पताल, सर्वोत्तम अस्पताल, इण्डो नेपाल अस्पताल, स्पर्श मल्टिस्पेसियालिटी अस्पताल लगायतका अस्पतालमा पुगेका थिए ।
अनुगमनका क्रममा बसपार्क नजिक लिंक रोडमा रहेको भवानी हस्पिटल र बाईपासमा रहेको स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रालिलाई नविकरण नगरेको पाईएकोले नविकरण गर्न निर्देशन दिनुभएको छ । प्रभु अस्पताल र सर्वोत्ता अस्पताल भने संतोषजनक देखिएको टोलीका सदस्य ठाकुरले बताए ।