
७ फागुन, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्साको सभापतिमा वृजकिशोर पटेल विजयी भएका छन् । बुधवार सम्पन्न मतदानमा पटेल ४ मतले विजयी भएका हुन् । उनले ६७ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विरेन्द्रराज कडेंलले ६३ मत ल्याएका छन् ।
त्यस्तै उपसभापतिमा भगवती चौधरी विजयी भएका छन् । उनले ७४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी विनोद मेहेताले ५५ मत ल्याएका छन् । महिला उपसभापतिमा मधु राणा ७५ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सरिता कुमारी यादवले ५५ मत पाएकी छिन् । मन्त्रीमा विनोद गिरी ६६ मत ल्याएर विजयी भएका छन् । अर्का प्रतिस्पर्धी महन्थ प्रसाद यादवले ६४ मत पाए ।
कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत ७० मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी काशी प्रसाद साह तेलीले ६० मत ल्याएका छन् । उपमन्त्रीमा भने दुवैको बराबर मत आएको छ । साविर अहमद एराज र सन्तोष कुमार गुप्ताको ६४–६४ मत आएको छ । सभापतिमा वृजकिशोर पटेल विजयी भएपनि अधिकांश पदाधिकारी र सदस्यहरु भने कडेंल पक्षका विजयी भएका छन् ।
कार्यसमिति सदस्यहरुमा कडेँल प्यानलका ७ जना सदस्य र महिला सदस्य २ जना विजयी भएका छन् । कडेंलको प्यानतर्फका उम्मेदवार बनेका सदस्यहरुमा शिवनाथ यादवले ७२ दिनानाथ रौनियार ७०, मदन प्रसाद गुप्ता ७०, जितेन्द्र कुमार वर्मा ७०, बाबुनन्द चौरसिया ६५, अलिअसगर देवान ६५ मत ल्याएर विजयी भएका छन् । वृजकिशोर पटेलतर्फका उम्मेदवार सदस्यमा पराजित भएका छन्।
त्यस्तै महिला सदस्यमा कविता खड्का, मूना खनाल, बबिता कुमारी कानु विजयी भएका छन् । कविता खड्काले ८३ मत, मूना खनाल र बबिता कुमारी कानुले ७०–७० मत ल्याएका छन् । महिला सदस्यमा पनि विरेन्द्रराज कडेँल प्यानलका दुईजना विजयी भएका छन् । तीनजना महिला सदस्य मध्य कविता र बबिता दुवैजना कडेँल प्यानलकै सदस्यहरु हुन् ।
एकसय ३४ मतदाता संख्या रहेको रेडक्रस सोसाईटी पर्सा शाखामा १३३ मत खसेकोमा सदस्यको मतपत्रमा २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । १७ जना कार्यसमितिको लागि ३४ जनाको उम्मेदवारी परेको थियो । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।