Logo

८ फागुन, सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ मा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोशी कृषि फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि भएपछि नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

पाँच सयभन्दा बढी हाँसका चल्लामा बर्डफ्लु रोग देखिएपछि कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रलाई नियन्त्रणमा राखिएको उनले बताए । फार्ममा रहेका केही कुखुरा पनि मरेका छन् । जिल्लामा रहेको बर्डफ्लु नियन्त्रण समितिले निरीक्षण गरी बर्डफ्लु सङ्क्रमित फार्मका अरू चल्लालाई पनि नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ ।

बर्डफ्लु रोग देखिएको कृषि फार्म वरिपरि कुखुरा र हाँसको ओसारपसार गर्न नदिइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिए । साथै जिल्लाका विभिन्न ठाउँबाट कुखुरा र हाँसको नमूना लिने काम पनि भइरहेको उनले बताए ।

माघको अन्तिम हप्तादेखि फार्ममा धमाधम हाँस मर्न थालेका थिए । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा हाँसको नमूना जाँच गरेपछि बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो । हाँसमा शुरूमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने पशु चिकित्सक बताउँछन् ।


सम्बन्धित समाचार