
१२ फागुन,वीरगञ्ज । उपराष्ट्रपति रामसहाय यादवले रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको सेवा एकदम सराहनीय रहेको बताएका छन् । रामकुमार महावीर आँखा अस्पतालको स्वर्ण महोत्वसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले यस्तो बताएका हुन ।
५० वर्षमा रामकुमार महावीर आँखा अस्पतालले धेरै राम्रो काम गरेको जनाउँदै उपराष्ट्रपति यादवले अबका दिनहरुमा अझ सशस्त्र भएर सेवा प्रदान गर्न आग्रह गरेका छन् ।
उनका अनुसार अहिलेसम्म अस्पतालको गुणस्तरीय सेवाका छ । यहीकारणले नै होला पर्सा, बारा, रौतहट, मकवानपुरसहित छिमेकी देश भारत विहारबाट पनि आँखा उपचार गराउन विरामीहरु आउने गरेका हुन ।
आँखा सम्बन्धी १८ प्रकारको उपचार सेवा दिइरहेको आफूलाई खुसी लागेको उपराष्ट्रपति यादवले भनेका छन् ।
उनी भन्छन्, ‘यो क्षेत्रमा लामो समयदेखि आँखा अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ, अब यसमा नयाँनयाँ प्रविधिको उपयोग गर्दै लैजानुपर्छ । यसरी विकसित यो अस्पताललाई देशकै नमुना आँखा अस्पताल बनाउन जरुरी छ ।’
विगतमा भएको कमी कमजोरी अब सुधार्दै लैजानुपर्ने अबको आवश्यकता रहेको उपराष्ट्रपति यादवको सुझाव छ ।यसको साथै अस्पतालले प्रदान गर्दै आएको सेवाको गुणस्तरीयतामा समेत सुधार गर्नु जरुरी रहेको उपराष्ट्रपति यादव बताए ।
उनका अनुसार आँखाको क्षेत्रमा यो अस्पताललाई नमुना बनाइयो भने देशकै नमुना अस्पतालको रुपमा यसको विकास हुनेछ । रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालले अहिलेसम्म २७ लाख जनाको आँखाको जाँच गरेको छ भने ४ लाख भन्दा बढी जनाको आँखाको अप्रेसन गरेको छ ।
अस्पतालका अध्यक्ष परमेश्वरी देवी केडियाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका राजेश केडियाले स्वागत मन्त्ब्य र पत्रकार लक्ष्मी खरेलले कार्यक्रमको संचालन गरेकी थिइन ।